उत्तम आचार्य
कन्चनरुप , १० असार ।
जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गुमाएका सप्तरीका एक कृषकको परिवारलाई पशु बीमा अन्तर्गतको दुर्घटना बीमा वापतको दाबी रकम भुक्तानी गरिएको छ । सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका वडा नं. ६ (महुली) निवासी ६६ वर्षीय किसान यज्ञश्वर निरौलाको परिवारलाई दि ओरिएन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी फर्च्छौट बापतको रकम हस्तान्तरण गरेको हो ।
गत वैशाख १३ गते राति आफ्नै मकै बारीमा जंगली जनावर धपाउन बसेका बेला जङ्गली हात्तीले अचानक आक्रमण गर्दा निरौलाको घटनास्थलमै दुःखद निधन भएको थियो । ६६ वर्षको उमेरमा पनि व्यावसायिक कृषि र पशुपालनमा सक्रिय निरौला स्थानीय स्तरमा एक जाँगरिलो र उदाहरणीय किसानका रूपमा परिचित थिए ।
निरौलाले कृषि तथा पशुपन्छी बीमा अन्तर्गत दि ओरिएन्टल इन्स्योरेन्समा आफ्नो उन्नत जातको गाईको बीमा गराएका थिए । नेपाल सरकारको कृषि बीमा नीति अनुसार कृषकले पशुधनको बीमा गर्दा कृषकको पनि दुर्घटना बीमा हुने कानुनी प्रावधान रहेको छ । सोही व्यवस्था अनुरुप ओरिएन्टल इन्स्योरेन्सको दाबी अन्तर्गत दुर्घटना वापतको कुल रु. दुई लाख रुपैयाँ) दाबी रकम स्वीकृत भई भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।
बीमा कम्पनीका तर्फबाट एजेन्ट प्रकाश आचार्य र स्थानीय साक्षी प्रेम राज सुवेदीको रोहबरमा निरौलाको छोरा शिव निरौलालाई उक्त दाबी फर्च्छौट पुर्जा हस्तान्तरण गरिएको हो । उक्त दाबी रकम पीडित परिवारको राष्ट्रिय वाणिज्य बैंकमा जम्मा हुने गरी सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरिएको छ ।
दाबी पुर्जा हस्तान्तरण गर्दै बीमा कम्पनीका प्रतिनिधिले कृषि बीमाले पशुधनको मात्र नभएर किसानको समेत जीवन रक्षा र जोखिम न्यूनीकरण गर्ने बताए । “श्रमजीवी किसानको सुरक्षार्थ सरकारले ल्याएको यो प्रावधान वास्तविक पीडितसम्म पुग्नु सकारात्मक हो, पीडित परिवारलाई दुःखको समयमा यस राहतले केही आर्थिक सहयोग पुग्ने विश्वास लिएका छौँ,” कम्पनीका प्रतिनिधिले भने ।
सप्तरीको उत्तरी भेगमा हात्ती, बँदेल लगायतका वन्यजन्तुको त्रास र बालीनाली एवं मानवीय क्षति बढिरहेका बेला कृषि बीमामा समेटिएको दुर्घटना बीमाले किसान परिवारलाई आर्थिक संकटमा ठूलो राहत पुर्याएको स्थानीय सरोकारवाला तथा जनप्रतिनिधिहरूले बताएका छन् ।