उत्तम आचार्य
कञ्चनरूप,१७ जेठ ।
विगत ४० वर्ष (चार दशक) देखि एउटा सानो ठेला गाडा र ओठमा निष्कपट मुस्कान बोकेर कञ्चनरूप क्षेत्रमा खुसी बाँड्दै आएका वसन्त राम (मोच्छु काका) लाई सम्मानस्वरूप नयाँ आइसक्रिम कार्ट हस्तान्तरण गरिएको छ । हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १४ पोर्ताहा स्थायी घर भई कञ्चनरूप क्षेत्रलाई आफ्नो कर्मथलो बनाएका रामलाई स्थानीय युवा तथा नागरिकहरूको विशेष पहलमा उक्त उपहार प्रदान गरिएको हो।
लामो समयदेखि यस क्षेत्रमा आइसक्रिम बिक्री गर्दै आएका मोच्छु काकाको हातको आइसक्रिम नखाएको व्यक्ति यहाँ सायदै कोही होलान्। उहाँको आइसक्रिमको स्वाद एउटै परिवारका तीन पुस्ताले चाखिसकेका छन्। स्थानीय बासिन्दाहरूका अनुसार उनले केवल आइसक्रिम मात्र बेचेनन, बरु प्रत्येक ग्राहकलाई अथाह माया र आत्मीयता पनि बाँडे। स्थानीय धेरै नागरिकहरूको बाल्यकाललाई स्वादिलो, रङ्गीन र यादगार बनाउन उनको ठुलो योगदान रहेको छ।
उनको यही निस्वार्थ सेवा र योगदानको सम्मान गर्दै गौतम कुमार शरण ज्यू तथा साथीहरूको विशेष र सराहनीय पहलमा एउटा नयाँ आधुनिक आइसक्रिम कार्ट निर्माण गरी आज एक कार्यक्रमका बीच उनलाई हस्तान्तरण गरिएको हो।
कार्ट हस्तान्तरण गर्दै अभियन्ताहरूले भने, “उहाँले हाम्रो समाजलाई दिनुभएको गुन र मायाको अगाडि यो उपहार निकै सानो हो, तर यसमा हामी सम्पूर्ण कञ्चनरूपवासीको अगाध प्रेम र कृतज्ञता जोडिएको छ।”
यो पवित्र र सामाजिक कार्यलाई सफल बनाउन आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्ने सम्पूर्ण मनकारी सहयोगी हातहरू प्रति आयोजक टोलीले हृदयदेखि नै आभार प्रकट गरेको छ। नयाँ कार्ट प्राप्त गरेपछि मोच्छु काकाको मुहारमा सदाझैँ एउटा सुन्दर र निष्कपट मुस्कान छाएको थियो। स्थानीयहरूले उनको यो मुस्कान र आइसक्रिमको मिठास सधैँ यसरी नै रहिरहोस् भनी कामना समेत गरेका छन्।