• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पीडित बालिकालाई इन्सेकको आर्थिक सहयोग

पीडित बालिकालाई इन्सेकको आर्थिक सहयोग
न्यूज टुडे
राजविराज, २६ जेठ । 
जबर्जस्ती करणी घटनामा पीडित १० वर्षीया बालिकालाई मंगलबार इन्सेकले आर्थिक सहयोग गरेको छ ।  कानुनी उपचारमा जान  तथा स्वास्थ्य उपचारका लागि इन्सेकले पीडित बालिकालाई सहयोग गरेको हो । 
इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले  इन्सेक सङ्खुवासभा प्रतिनिधि भविन कार्कीमार्फत पीडितलाई न्यायिक प्रक्रियामा जान र पीडितको स्वास्थ्य उपचारका लागि पाँच हजार रुपियाँ आर्थिक सहयोग गरेको इन्सेकले जनाएको छ ।
घटनापछि पीडित बालिकालाई राखिएको सुरक्षित आवासगृह तथा पुनस्र्थापना केन्द्रकी व्यवस्थापक तुलसी घिमिरेले पीडित बालिकाको स्वास्थ्य तथा कानुनी उपचारका लागि जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर धनबहादुर राजवंशीको उपस्थितीमा इन्सेकबाट आर्थिक सहयोग प्राप्त भएको बताए ।
पीडित बालिकाको परिवारको आर्थिक अवस्था कमजोर भएको भन्दै पीडितले कानुनी प्रक्रियाका लागि इन्सेकलाई निवेदन दिएपछि र आवासगृहले सिफारिश गरेपछि इन्सेकले आर्थिक सहयोग प्रदान गरेको इन्सेक कोशी प्रदेश कार्यालयका प्रदेश संयोजक मनोहरकुमार पोखरेलले जानकारी दिए । 
उपचारका लागि जिल्ला अस्पतालमा भर्ना भएकी पीडित बालिकाको शरीरमा चोट र निलडाम भएको जिल्ला अस्पतालले जनाएको छ । पीडित बालिकालाई जिल्ला अस्पताल सङ्खुवासभामा उपचार पश्चात अहिले सुरक्षित आवासगृह तथा पुनस्र्थापना केन्द्रमा राखिएको छ ।
पीडित बालिकालाई ०८३ जेठ ७ गते बलात्कार गरेको आरोपमा प्रहरीले पाँचखपन नगरपालिका–३ का ३० वर्षीय अरुण राईलाई जेठ २० गते गिरफ्तार गरेको थियो । पीडित पक्षले बलात्कार घटनाका आरोपित राईविरूद्ध जेठ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।