• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी लगायत तराई मधेशमा यति बेला गर्मी अत्यधिक बढेको छ । पर्याप्त वर्षा नभएका कारणले तापक्रम निकै बढेका कारण जनजीवन प्रभावित हुन थालेको छ भने यही कारणले अस्पतालमा विरामीको संख्या पनि बढ्न थालेको छ ।

गर्मी उग्र भएपनि विद्यालयहरु सञ्चालनमा नै रहेका कारण विद्यार्थीहरु यसबाट बढी प्रभाबित बनेका छन् । एकै कक्षा कोठामा धेरै संख्यामा विद्यार्थी राखेर पढाउनु परेका कारण उकुसमुकुसको अवस्था मात्र होईन,कतिपय विद्यालयमा त गर्मीले गर्दा विद्यार्थी बेहोस हुने घटना पनि भएका छन् । यस्तो विषम अवस्थामा पनि विद्यालय सञ्चालन गरिरहनु भन्दा केही दिनकालागि विदा दिएर भए पनि विद्यार्थीको स्वास्थ्य रक्षा गर्नु पर्ने विचार अघि सार्न थालिएको छ । तर पनि विद्यालय सञ्चालनमै रहेका कारण यस प्रति सोच्नु पर्ने अवस्था आएको छ । केही विद्यालयका कक्षा कोठामा त यस्तो गर्मीमा पनि पंखाको व्यवस्था नगरिएका कारणले विद्यार्थीलाई कोठामा बसिनसक्नु छ । विद्यालयहरु स्थानीय तह मातहत छन् । तर त्यहाँका समस्याका बारेमा स्थानीय सरकार समेतको भूमिकामा रहेका स्थानीय तहहरुले ध्यान नदिएका कारणले विद्यार्थी पनि यसमा पिसिन पुगेको भन्दा अन्यथा नहोला ।

त्यसैले विद्यालयमा विद्यार्थीले भोग्नु परेका यस्ता समस्यामाथि पालिकाले चासो राख्न आवश्यक छ । त्यसकालागि आवश्यक बजेटको व्यवस्था गरी नियमित पठनपाठनको बातावरण तयार गर्न सकियो भने मात्र विद्यालयमा विद्यार्थीको उपस्थिति पनि नियमित रहन सक्दछ । सबै वालवालिकालाई विद्यालयमा भर्ना गर्ने अभियानको परिपूर्तिकालागि पनि यस्ता समस्यालाई गम्भीरताका साथ लिनु पर्ने हुन्छ ।