सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ४ प्रशवनीमा रमानन्द प्रसाद सिंह थारु भाषा संस्कृति स्मृति प्रतिष्ठान भवन निर्माण हुने भएको छ । महान्यायाधिवक्ता रमानन्द प्रसाद सिंहको स्मृतिमा भाषा संस्कृति भवन निर्माण हुने भएको हो ।
भाषा संस्कृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रममा सहभागीहरु । फोटो : न्यूज टुडे
रमानन्द प्रसाद सिंह थारु भाषा संस्कृति विकास तथा संरक्षण अध्यन केन्द्र तथा थारु संग्राहलय निर्माण उपभोक्ता समितिद्वारा आयोजित एक कार्यक्रमको वीच अग्नीसाइर कृष्णासवरन गाउँपालिका ४ का वडाध्यक्ष तेज नारायण यादवले भवन निर्माण स्थलको पर्खालको शिलान्यास गरे ।
भवन निर्माण स्थल संरक्षण पर्खाल निर्माण कार्यको शिलान्यास गर्दै वडाध्यक्ष यादवले बहुआयामिक व्यक्तिन्व रमानन्द बाबुको स्मृतिमा उहाँको जन्म थलोमा निर्माण हुने प्रतिष्ठानले गाउँपालिकाको समग्र पहिचान र विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । प्रतिष्ठान निर्माणले नमानन्द प्रसाद सिंहले समाज, देश प्रति पुर्याएको योगदानको कदर हुने भन्दै उनले प्रतिष्ठानको पूर्वाधार निर्माण कार्यमा पूर्ण साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
थारु, भाषा, साहित्य केन्द्रका केन्द्रीय अध्यक्ष भुलाई चौधरीले थारु समुदायमै अविस्मरणीय छाप छोडेर देशविदेशमा चर्चा पाएका व्यक्तित्वको स्मृतिमा थालिएको प्रतिष्ठान भवन निर्माण कार्य सधैको लागि स्मरणीय हुने बताए । उहाँको सम्मानमा राज्य स्तरबाट हुनु पर्ने कार्य परिवारको सदस्यले चासो राखेर ढिलै भएपनि सुरुवात गरेकोमा प्रशंसा व्यक्त गर्दै उनले प्रतिष्ठान निर्माण कार्यमा सबै पक्षको साथ सहयोग अपरिहार्य हुने बताए ।
पत्रकार बृजमान तामाङले प्रतिष्ठान स्थापनासंगै थारुसहित सबै भाषा संस्कृतिको जगेर्नामा मदत पुग्ने बताए । प्रतिष्ठान निर्माणमा परिवारका सदस्य समेत रहेकी पत्रकार प्रिया सिंह थारुले प्रतिष्ठानको परिकल्पना गरी मुर्तरुप पाएकोमा खुशी व्यक्त गर्दै उनले यसले सामाजिक रुपान्तरणमा सहयोग पुग्नुको साथै सबैजातजाति भाषा, संस्कृति जगेर्नामा प्रेणा मिल्ने विश्वास व्यक्त गरे ।
रमानन्द प्रसाद सिंह थारु भाषा संस्कृति विकास तथा संरक्षण अध्यन केन्द्र तथा थारु संग्राहलय निर्माण उपभोक्ता समितिका अध्यक्ष निखिल सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा थारु भाषा साहित्य केन्द्रका महासचिव सियाराम चौधरी, यूवा नेता अजय चौधरी,जग्गादता परिवारका सदस्य लिलाधर चौधरी, वडा सदस्य जानकी चौधरी, स्थानीय अशोक कुमार चौधरी, शैलेन्द्र कुमार गामीलगायत स्थानीय बुद्धिजीवी समाजसेवीहरुको उपस्थिति थियो ।
कार्यक्रम संचालन प्रविण कुमार चौधरीले गरेका थिए ।
मधेस प्रदेश सरकारको २५ लाख लागतमा सुरु गरिएको उक्त प्रतिष्ठान भवन निर्माणका लागि परिकल्पनाकर पार्वती सिंह थारु ( प्रिया सिंह थारु) तथा लिलाधर सिंह र विनम सिंहका आमा तथा रमानन्द प्रसाद सिंहकी भाईबुहारी भुलमाया देवी चौधरीले २ कठ्ठा १० धुर जग्गा उपलब्ध गराएका छन् ।
सप्तरीको प्रशवनीमा जन्मिएका सिंह २०४७ सालको संविधानका मस्यौदाकार, सरकारको महान्यायाधिवक्ता र कानून सचिव समेत रहेका थिए ।
देशको हरेक परिबर्तनमा अग्रणी भुमिकामा रहेको सिंहको जन्म १९८५ कार्तिक २६ गते भएको थियो भने स्वार्गारोहण २०६५ बैशाख २५ गते भएको थियो ।