बजार क्षेत्रको सडक विस्तारका साथै ढल नाला निर्माणको योजना तहत राजविराज नगरपालिकामा काम सुरु गरेको निकै समय वितिसकेको छ । तर कामको क्रममा भत्केका संरचनाहरुको अवशेष हटाउने काममा ध्यान नदिनाले मेनरोडमा आउजाउको सकस बढ्दो छ ।
खासगरी दिउँसोको व्यस्त समयमा बजार क्षेत्रमा सवारी साधनहरुको चाप अत्यधिक रहने गर्दछ । तर भत्काएर थुपारिएको अवशेष हटाएर खाली गर्नेतर्फ ध्यान नदिँदा बजार क्षेत्र सवारी साधनको जामका कारणले अस्तव्यस्त रहने गरेको छ । अब वर्षायाम सुरु भईसकेको छ । आवागमनमै समस्या रहने गरी संरचना भत्काएर थुपार्नाले वर्षाको पानी समेत जमेर सडक जलमग्न हुन थालेको छ । पानी निकासीको व्यवस्था मिलाउने तर्फ ध्यान नदिने हो भने अवस्था झनै बिग्रेर जाने निश्चित छ । नाला निर्माणका लागि समय लाग्नुलाई स्वाभाविक मान्न सकिएला । तर भत्काएर थुपारिएका इँटाका टुक्रा, माटो तथा अन्य फोहरजन्य कुराहरुलाई त्यहाँबाट हटाएर सडक खुला गर्ने र पानीलाई बग्न दिने गरी व्यवस्था मिलाउन पनि उत्तिकै आवश्यक रहन्छ भन्ने कुरालाई विर्सन मिल्दैन ।
सडक अस्तव्यस्त रहेकै अवस्थामा पानी समेत बग्न नपाएर जम्मा हुन थालेपछि दुर्घटनाको जोखिम त बढ्छ नै । यसका साथसाथै पानीजन्य रोग लाग्ने सम्भावनालाई पनि नकार्न सकिन्न । यस्तो सकसपूर्ण अवस्थालाई सुधार गर्ने तर्फ सम्बन्धित निकायले ध्यान पुर्याउन आवश्यक छ ।