• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अतिक्रमीत सरकारी जग्गा फिर्ता ल्याउन भुमिका  निर्वाह गर्छु  : प्रजिअ थापा

अतिक्रमीत सरकारी जग्गा फिर्ता ल्याउन भुमिका  निर्वाह गर्छु  : प्रजिअ थापा
न्यूज टुडे
राजविराज,०९ असार । 
सप्तरीका नवागंतुक प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले अतिक्रमण गरिएको सरकारी जग्गा फिर्ता ल्याउने  भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  जिल्ला प्रशासन कार्यालयमा मंगलबार पत्रकारसंग भेटघाट तथा परिचयात्मक कार्यक्रममा बोल्दै उनले सरकारी जग्गा अतिक्रमण नियन्त्रणमा भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । 
राजविराज कारागारको २ बिघाबढी जग्गा अतिक्रम भएको विषयलाई उठाउँदा सुनुवाइ नभएको पत्रकारहरुले राखेको जिज्ञासाको जबाफमा प्रजिअ थापाले सरकारी जग्गा अतिक्रम गरिएको भए फिर्ता ल्याउने कार्यलाई प्राथमिकता दिने बताए । उनले  सार्वजनिक  सम्पतिको सुरक्षा गर्ने कार्यमा दृढताको साथ काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । 
सप्तरीमा पाइला टेक्नसाथ पत्रकारमाथि आक्रमणको घटना मिडियामा छरपस्ट पाइएको प्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै उनले समाचार लेखेको निहुँमा पत्रकारमाथि हुने यस्ता गतिविधिमा संलग्न व्यक्तिहरुले उन्मुक्ति नपाउने बताए । उनले पत्रकारलाई आक्रमण गर्नेमाथि कारबाही गर्ने बताए । 
विपन्न, निमुखा, असहायलाई प्राथमिकतामा राखी सेवा प्रवाह गर्न प्रतिबद्ध रहेको बताउँदै प्रजिअ थापाले पहुँचको आधारमा दिइने सेवालाई निरुत्साहित गरिने उल्लेख गरे । 
‘लागूऔषध नियन्त्रणमा कडाइ गर्छौ’ छेउमै बसेका प्रहरी उपरीक्षक रुपक खड्कातिर पुलुक्क हर्दै उनले भने, लागूऔषध कारोबार हुने क्षेत्रमा गस्ती बढाऔं । ‘ उनले लागूऔषध कारोबार र प्रयोगकर्ता नियन्त्रणमा कडाइ गरिने बताए ।
सडक सुरक्षा, औषधि पसलबाट हुने अबैध कारोबार, ध्वानी प्रदुषण,  बसपार्क संचालन, सिमा क्षेत्रमा हुने चोरी निकासी,तथा अबैध धन्दा, सडक अतिक्रम, क्षेत्रमा खुल्ला मदिरा विक्री वितरण, फोहरमैला व्यवस्थापन तथा शान्ति सुरक्षाको सवालमा पत्रकारहरुले दिएको सुझावलाई सकारात्मक रुपमा लिएको बताउँदै उनले सार्वजनिक सरोकारको विषयमा स्थानीय सरकार, पत्रकार, नागरिक समाज राजनीतिक दलहरुसंग सहकार्य गरेर सुधार ल्याइने बताए । 
पत्रकारलाई सूचना, सम्मान, सुरक्षामा कमी आउन नदिने प्रतिबद्धता व्यक्त गर्दै उनले ढुक्कसंग कार्यक्षेत्रमा लाग्न पत्रकारहरुलाई आग्रह गरे । 
उनले आफ्नो कार्यकालमा सुरक्षा निकायमाथी प्रश्न उठ्ने कार्य नहुने बताउँदै जिल्लामा स्वागत पाएजस्तै सम्मानको साथ विदाई हुने प्रयास गर्ने बताए । 
सरकारी कार्यालयहरुमा स्थानीय सरकारले गर्ने सहयोगलाई विधिसम्मत भएको दावी गर्दै प्रतिअ थापाले आवश्यकता अनुसारको सहयोग लिदा अन्यथा नहुँनें जिकिर गरे । 
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय संचार माध्यममा कार्यरत पत्रकारहरुले पत्रकारसहित जिल्लाको समग्र शान्ति सुरक्षा तथा आम समस्याको विषय उठाउँदै  सुधारको लागि सुझाव दिएका थिए ।