न्यूज टुडे
राजविराज, १० असार ।
जिल्ला प्रशासन कार्यालयले इस्लाम धर्मावलम्बीहरूको मोहरम पर्वमा हातहतियारको प्रदर्शन गर्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा बुधबार एक सूचना जारी गर्दै कानुनविपरीतका गतिविधि, हातहतियार प्रदर्शन गर्न रोक लगाएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवद्वारा जारी सूचनामा मोहरम पर्वको अवसरमा सप्तरीमा बसोबास गर्ने सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै सभ्य, मर्यादित र शान्तिपूर्ण वातावरणमा मनाउन आग्रह गरेको छ।
सूचनामा पर्व मनाउने क्रममा सार्वजनिक सडक तथा स्थानमा हातहतियार प्रदर्शन नगर्न, सवारी आवागमनमा अवरोध सिर्जना नगर्न तथा होहल्ला लगायतका अवाञ्छित गतिविधि नगर्न नगराउन आग्रह गरिएको छ।
धार्मिक सद्भाव, सामाजिक सदाचार र सार्वजनिक शान्तिसुरक्षा कायम राख्दै पर्वलाई हर्षोल्लासपूर्वक मनाउन जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
सूचनामा चाडपर्वको नाममा कानुनविपरीतका गतिविधि, हातहतियार प्रदर्शन वा सार्वजनिक शान्ति भंग हुने कुनै पनि कार्य गरे गराइएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।
मुस्लिम धर्मावलम्बीले हतियार र लाठी चलाउन पुस्तान्तरण गर्ने मान्यतालाई निरन्तरता दिदै घरेलु हातहतियार, लाठी आदिको प्रदर्शन गरी मोहरम पर्व मनाउने प्रचलन रहेको छ ।
प्रथाजन्य अभ्यासको रुपमा चाडपर्व मनाउने गरिएपनि पछिल्लो समय लागूऔषध तथा मादकपदार्थ सेवन गरि उछृखल गतिविधिले दुर्घटना बढ्न थालेपछि प्रशासनले कडाइ गरेको हुन स्स्क्ने एक इस्लाम धर्मका अगुवाको स्वीकारोक्ति छ ।