• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरी जिल्लालाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने सम्भावना प्रचुर छ । यस बारेमा समय समयमा चर्चा परिचर्चा नभएका पनि होईनन् ।
जिल्लामा रहेका धार्मिक,सांस्कृतिक तथा ऐतिहासिक स्थलहरुले यसको प्रतिष्ठा बढाउनमा पनि योगदान दिँदै आएका छन् । तर पनि यस जिल्लालाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न चाहिँ सकिएको छैन । यसकालागि सरकारले विशेष ध्यान दिन आवश्यक त छ । तर यो कुरा कुनै कुनै बेला चर्चामा आएर पनि त्यसै सेलाउने गरेको छ । जिल्लाका प्रसिद्ध मन्दिर मध्येको रुपनगर स्थित विष्णुमन्दिरमा आगामी असार २ र ३ गते वार्षिकोत्सव मनाइँदै छ । दुई दिनसम्म विशेष पूजा आराधना,आध्यात्मिक प्रवचन,अखण्ड भजनकीर्तनका साथै सांस्कृतिक कार्यक्रमका साथ वार्षिकोत्सव मनाउन लागिएको हो । जिल्लाका प्रसिध्द तथा पुराना मन्दिर मध्येको एक हो रुपनगरको विष्णुमन्दिर । समाजमा एकता, आस्था तथा सांस्कृतिक परम्परा समेतको संरक्षणकालागि यस कार्यक्रमले योगदान पुर्याउने आयोजकले विश्वास व्यक्त गरेका छन् । यस दृष्टिकोणबाट पनि यो कार्यक्रमको महत्व रहेको मान्न सकिन्छ । जिल्लाका अन्य पवित्र धार्मिक स्थललाई यस मन्दिर समेत जोडेर प्याकेजका कार्यक्रम ल्याउन सकिएमा जिल्लामा बाहिरका श्रध्दालु भक्तजनलाई पनि आकर्षित गर्न सकिने सम्भावना प्रचुर छ । यसकालागि आवश्यक पूर्वाधारको तयारीमा जुट्नु पर्ने पहिलो आवश्यकता हो ।
यसमा केन्द्र, प्रदेश तथा स्थानीय सरकार समेतले ध्यान दिएर काम गर्ने हो भने मात्र जिल्लालाई धार्मिक पर्यटकीय स्थलका रुपमा अघि बढाउन सकिने छ ।