उत्तम आचार्य
कञ्चनरूप, ३० जेठ ।
“लैङ्गिक हिंसामुक्त समाज निर्माण हाम्रो साझा जिम्मेवारी” भन्ने मूल नाराका साथ सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर १२ मा दुई दिने लैङ्गिक हिंसा न्यूनीकरण तालिम सुरु भएको छ। वडा कार्यालयको आयोजनामा आजदेखि तालिम औपचारिक रूपमा शुभारम्भ भएको हो।
तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै वडा अध्यक्ष देवी बहादुर खत्रीले समाजमा व्याप्त लैङ्गिक हिंसा, विभेद र अन्यायका घटनाहरू न्यूनीकरण गर्न यो तालिम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो। “समाजमा सम्मान, समानता र सुरक्षाको भावना अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम राखिएको हो,” अध्यक्ष खत्रीले भन्नुभयो, “यसले सहभागीहरूमा सचेतना र जिम्मेवारीको भावना विकास गर्नेछ।”
त्यस्तै, कार्यक्रममा बोल्दै वडा सदस्य जैनुद्दिन मियाँले लैङ्गिक हिंसाविरुद्धको अभियान कुनै एक व्यक्ति वा संस्थाको मात्र नभएर सम्पूर्ण समाजको साझा जिम्मेवारी भएको बताउनुभयो। उहाँले हिंसाविरुद्ध आवाज उठाउँदै न्याय, समानता र मानव अधिकारको सम्मान गर्ने संस्कृतिको विकास गर्न सबैलाई आग्रह गर्नुभयो।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाका खुला सदस्य उत्तम आचार्यले तालिम औपचारिकतामा मात्र सीमित नभई परिणाममुखी र समाज रूपान्तरण गर्ने किसिमको हुनुपर्नेमा जोड दिनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान र अनुभवलाई समुदायको तल्लो तहसम्म पुर्याएर हिंसामुक्त र सभ्य समाज निर्माणमा योगदान पुर्याउन सहभागीहरूलाई आग्रह गर्नुभयो।
तालिममा कञ्चनरूप नगरपालिकाका प्रशासकीय अधिकृत नवराज खड्काले प्रशिक्षकको रूपमा सहजीकरण गरिरहनुभएको छ। “हिंसा होइन, सम्मान र समानताको व्यवहार गरौँ; लैङ्गिक हिंसामुक्त समाज निर्माणमा सबै एकजुट बनौँ” भन्ने सन्देश प्रवाह गर्न आयोजित यस तालिममा स्थानीय महिला, पुरुष, युवायुवती, सञ्चारकर्मी तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको छ।
वडा अध्यक्ष देवी बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन कार्यक्रमको सञ्चालन वडा सचिव द्वारिका निरौलाले गर्नुभएको थियो।