हकभोगको ५० वर्षपछि सप्तरीको रुपनी गाउँपालिका वडा नं.१ का ६७ वर्षिय सुलेमान मियाँले गत शनिबार जग्गाको स्वामित्व ग्रहण गर्न पाए । गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवको हातबाट जग्गाधनी प्रमाण पूर्जा(लालपूर्जा) पाएपछि मियाँ हर्षित बनेका हुन् ।
गाउँपालिका तथा वडा कार्यालयको पहलबाट जग्गाधनी प्रमाण पूर्जा पाएको उनको भनाई छ । हकभोगका आधारमा उनले लालपूर्जा पाए पनि उनी जस्ता धेरैले अहिलेसम्म पनि जग्गाको स्वामित्व हासिल गर्न सकिरहेका छैनन् । विशेष गरी विपन्न दलितहरुमा यस प्रकारको समस्या बढी देखिएको छ । जग्गाको विवाद र समस्याको टुंगो लगाउनकालागि पटक पटक माग हुँदै आएको छ । अव्यवस्थित बसोबास मिलाउन,भूमिहीनकालागि जग्गाको व्यवस्था गर्न,हरुवाचरुवाका समस्या समाधान गर्न माग गर्दै कैयौं पटक आन्दोलन समेत भईसकेको छ । निर्वाचनका समयमा हरेक जसो राजनीतिक दलले यस्ता समस्यालाई प्राथमिकताका साथ हल गरिने भनि प्रतिबध्दता जनाउने गर्दछन् । तर पनि यही विषयलाई लिएर आन्दोलन गरिरहनु परेको छ ।
सरकारले अहिले राजधानीका सुकुम्बासी वस्ती खाली गराएर वास्तविक सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने बताईरहेको त छ । तर पनि त्यो काम अहिले सुरु भएको छैन । अन्य जिल्लामा पनि भूमिसम्बन्धि समस्या धेरै रहेको अवस्था छ । खास गरी भूमिहीनलाई जग्गाको स्वामित्व दिलाउने विषयमा ध्यान केन्द्रीत गरी पुस्तौंदेखि बसोबास गर्दै आएका भए पनि स्वामित्वको प्रमाण नरहेका कारण उनीहरुमा उठिबासको चिन्ता छ । यस्तो अवस्थाको हल निकाल्नकालागि सरकारले विशेष ध्यान दिन जरुरी छ ।