न्यूज टुडे
राजविराज,०२ असार ।
नवागंतुक सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रुपक खड्काले अपराध नियन्त्रणमा प्रहरी र पत्रकार वीच समयमै सूचना आदानप्रदान हुन आवश्यक रहेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा राजविराजमा मंगलबार आयोजित परिचयात्मक तथा भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै नवागंतुक एसपी खड्काले जिल्लामा शान्ति सुरक्षा कायम राख्न पत्रकार र प्रहरीको सहकार्य अपरिहार्य रहेको बताए । उनले पत्रकारहरुले दिएको सुझावलाई सकारात्मक रुपमा ग्रहण गर्दै आम सप्तरीबासीको सुरक्षामा कमी आउन नदिने प्रतिबद्धता व्यक्त गरे ।
कसैको दवाव प्रभाव र प्रलोभनमा नपरी कानूनको परिधिभित्र रहेर प्रहरीले निर्वाह गर्नुपर्ने दायित्व निष्ठापूर्वक पूरा गर्ने उनले विश्वास दिलाए । एपसी खड्काले ढोकामा लगाएको साचोले घरको सुरक्षा गरेजस्तो सप्तरी प्रहरीले पनि आम जनतालाई सुरक्षा प्रदान गर्नेमा जोड दिए ।
उनले राजविराज नगरपालिकामा हुने ट्राफिक व्यवस्थापनका लागि २०६७ सालमा सप्तरी जिल्ला अदालतले गरेको आदेश कार्यान्वयनमा ल्याउने बताए । सकड पेटी अतिक्रम तथा अस्तव्यस्त ट्राफिक प्राकिंङ्गलाई व्यवस्थित गर्न प्रहरीले कुनै कसर बाँकी नराख्ने बताउदै एसपी खड्काले त्यसका लागि पत्रकारसहित सबै क्षेत्रबाट सहयोग पाउने विश्वास व्यक्त गरे ।
राजविराजको मुख्य सडक वीचबाट सवारी साधान र पेटीबाट मानिस आवतजावत गर्दा पाउने आनन्द र सुन्दर शहरको कल्पना गरौं भन्दै उनले आफू राजविराज छिर्दै गर्दा पत्रकार ज्यूहरुले दिएको सुझाव जस्तै सवारी पार्किङ नमिलेको पाएकोले यसमा सुधार गर्ने बताए ।
नवागंतुक डिएसपी हेमराज घिमिरेले पत्रकारहरुलाई सम्मान, सूचना र सुरक्षामा कमी हुन नदिने बताए । प्रहरीले दिन मिल्ने सूचना समयमै उपलब्ध गराउने उनले प्रतिबद्धता व्यक्त गरे ।
पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, मधेस प्रदेश सल्लाहकार अबधेश झा, शाखा पूर्व अध्यक्ष धिरेन्द्र प्रसाद साह, महासंघका उपाध्यक्ष द्वोय रामनारायण विश्वास, सुधा देव, सल्लाहकार वैद्यनाथ यादव,विनयलाल कर्ण भूषण सिंह,,चन्दन कुमार यादव, बृजमान तामाङ, नर्मदेव यादव, विद्यानन्द राम, अरुण कुमार यादव, सौरभ यादव,रुपेश यादव, रामशंकर भण्डारीलगायतकाले सत्ता र राजनीतिक दवाव, आर्थिक प्रलोभन, विचोलियाबाट प्रहरी मुक्त भएर कार्यसम्पादनमा जुट्दा सफलता हाँसिल हुने बताए ।
जिल्लामा मुख ताकेर प्रहरीले सेवा दिने प्रवृत्तिको अन्त्य,विभिन्न प्रभाव र प्रलोभनमा परी गम्भीर प्रकृतिका घटनाका प्रतिवादी खुलेयाम हिड्ने जघन्य अपराधका मुद्दाका प्रतिवादीलाई नियन्त्रणमा लिएर पीडितलाई न्याय दिने,जिल्ला प्रहरी परिसर भित्र पञ्चायतीको अन्त्य, सडक सुरक्षामा केन्द्रित हुनुपर्ने, मदिरा र प्रतिबन्धित लागूऔषधको विक्रीवितरण नियन्त्रण गर्ने तथा सडक अतिक्रम रोक्ने कार्यमा कडाइ, गर्नुपर्ने उनीहरुले सुझाव दिए ।
भेटघाट कार्यक्रममा जिल्लामा कार्यरत राष्ट्रिय तथा स्थानीय मिडियाका सक्रिय पत्रकारहरुको उपस्थिति थियो ।