संघीयता सवलीकरण बारे समाचार लेखन सम्बन्धि मधेस प्रदेश स्तरीय दुई दिवसीय कार्यक्रम धनुषाको ढल्केवरमा बुधबारदेखि सुरु भएको छ । आम सञ्चार प्राधिकरण मधेस प्रदेश जनकपुरद्वारा कार्यक्रम आयोजना गरेको हो ।
आम सञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खड्काको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन मधेस प्रदेशकी श्रम तथा यातायात मन्त्री सारदा थापाले गरिन ।
पानसमा बत्ती बालेर कार्यक्रममा उद्घाटन गर्दै प्रमुख अतिथि मन्त्री थापा । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री थापाले संघीयतालाई थप मजबुत बनाउन पत्रकारको भुमिका अपरिहार्य रहेको बताए । संघीयताले शोषित पीडित अन्यायमा परेका बर्ग समुदायको अधिकार सुनिश्चित गरेको बताउँदै उनले संघीयताको कारण एकसय बर्ष सम्म नहुने विकासको कार्य ९ बर्षमा भएको दावी गरिन ।
पछाडि परेका, पारिएका र उत्पीडनमा परेका तथा राज्यको निकायमा पहुँच नभएकाहरुका लागि संघीयता अति आवश्यक रहेको चर्चा गर्दै उनले संघीयता बचाउने तथा रक्षा गर्न पत्रकारहरुले कलम चलाउनु पर्नेमा जोड दिइन् ।
संघीयताले नै देश विकासको गति लिएको भन्दै मन्त्री थापाले यसको सवलीकरणमा सबैपक्ष जिम्मेवार हुनुपर्ने आवश्यकता औल्याइन । संघीयताको विषयमा भएको नकारात्मक टिप्पणी प्रति असन्तुष्टि व्यक्त गर्दै उनले देशमा विकासको गति बढाउन संघीयता अपरिहार्य रहेको बताइन् ।
आम सञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खड्काले संघीयताको जननीको रुपमा रहेको मधेस प्रदेशलाई थप बलियो बनाउने उदेश्यले कार्यक्रम आयोजना गरेको बताए । उनले संघीयताको सिद्धान्तलाई आत्मसात गर्दै पत्रकारहरुको लागि सेवा सुविधा प्रवाह गरेको जानकारी गराउँदै संघीयता बोझिलो भयो र भ्रष्टाचार बढायो भनी संघीय व्यवस्थाप्रति गलत र भ्रमपूर्ण भाष्य निर्माण गरिएकाले यसलाई चिर्न कार्यक्रमबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा राष्ट्रिय सभाका पूर्व सदस्य एवम् संघीयताका विज्ञ डा. खिमलाल देवकोटा, संविधान सभा सदस्य लामिछाने, मधेस प्रदेशका योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झा लगायतको उपस्थिति थियो ।
आम सञ्चार प्राधिकरण मधेस प्रदेशका प्रमुख प्रशासकीय अधिकृत संतोष साहद्वारा संचालित कार्यक्रममा स्वागत आम सञ्चार प्राधिकरण मधेस प्रदेशकी सदस्य ज्योति झाले गरिन ।
कार्यक्रममा मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा र महोत्तरीका विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको छ ।