• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
शब्दको खेलमा बिटौरी समस्या

ब्यास शंकर उपाध्याय
राजविराज, सप्तरी ।
रोग टाउकामा छ अनि नाईटोमा भिक्स दलेर हुन्छ ? जनता समाजवादी पार्टी,नेपालका नेता तथा पूर्व मन्त्री उमेशकुमार यादवले राजविराजमा रहेको बिटौरी जग्गावालाहरुको समस्या तथा त्यसलाई लिएर अहिले चल्दै गरेको आन्दोलनका बारेमा सामाजिक सञ्जाल मार्फत व्यक्त विचार हो यो । हो,नगर स्थापनाकालदेखि नै बिटौरी तिरेर पुस्तौंदेखि बसोबास गर्दै आएका राजविराजका बासिन्दामाथि अहिलेसम्म लालपूर्जा नपाएका कारण अनेक प्रकारका समस्यासित जुध्नु पर्ने एक प्रकारको अनपेक्षित प्रताडना छ । त्यसै कारणले उनीहरु यति बेला लालपूर्जा माग्दै आन्दोलनमा होमिएका छन् ।

लालपूर्जा नै नरहँदा पनि विगतमा उनीहरुलाई केही फरक परेको थिएन,उनीहरुको काम चलेकै थियो । बिटौरी जग्गामा बसोबास गर्नेहरुले पनि लालपूर्जा धनीसरह नै सुबिधा पाउने गरेका कारण उनीहरु एक प्रकारले निश्चिन्त नै थिए । तर केही वर्ष अघि बिटौरी जग्गामा बैंकले ऋण नदिने,ऋण लिन धितो राख्ने जग्गाको लालपूर्जा नै चाहिने, लालपूर्जा नरहेको जग्गामालपोतमा जग्गा रजिष्ट्रेशन,रोक्का नहुने भएपछि साबिकदेखि भोगचलन गर्दै आएका आफूहरुको जग्गा एक प्रकारले खोटो सिक्कासरह बनाउने षड्यन्त्र भएको भन्दै उनीहरु आन्दोलनमा एकतृत हुन थालेका हुन् । त्यसमाथि अहिले पोख्त प्रमाण नरहेको सार्वजनिक जग्गाको बसोबास उठाउने गरी हुन थालेको तोडफोडका कारण उनीहरुका मनमा झन चिसो पसेको छ । यही कारणले उनीहरुले स्थानीय स्तरमा आन्दोलन सुरु गरेका छन् । यस्ता आन्दोलन यस अघि पनि भए । त्यति बेला राजविराज नगरपालिका,नापी कार्यालय,स्थानीय प्रशासन समेतले समस्या समाधानको आश्वासन दिएर आन्दोलन रोकियो । तर काम नभएपछि अहिले फेरि स्थानीय स्तरमा आन्दोलन सुरु भएको छ । यस क्रममा बुधबार राजविराज बजार पूर्ण रुपमा बन्द भयो । अनसन,धर्ना, नगरपालिकामा तालाबन्दी समेत भए । यस आन्दोलनमा सहभागिता जनाएर कतिलाई निर्वाचन लक्षित भोट बटुल्ने पनि भित्रि योजना हुन सक्ला । यही समस्यालाई मुद्दा बनाएर विगतमा पनि निर्वाचनका समयमा उम्मेदवारका प्रतिबध्दता आएकै हुन् । यसै क्रममा कतिपयका फरक फरक धारणा पनि आउन थालेका छन् । तर पीडितका समस्या भने यथाबत रहेका कारण त्यसको समाधान कहिले हुने भन्ने यकीन हुन सकिरहेको छैन ।

बिटौरी समस्यालाई लक्षित गरी जतिसुकै शब्द आडम्बर प्रस्तुत गरी आफू जिम्मेवारीबाट पन्छिन चाहे पनि वा उग्र नाराबाजी गर्दै आन्दोलनको साख आर्जनको मनसुबा राखे पनि पूर्व मन्त्री यादवले उल्लेख गरे जस्तै यो समस्याको समाधान स्थानीय स्तरबाट नभई केन्द्रबाट मात्र सम्भव छ । आफैं बोक्सी आफैं झाँक्रीको भूमिकामा कसैले स्वार्थसिध्दिकालागि उक्साएर जनताको भावनाको व्यापार गर्नेतिर पो लागेका छन् कि भन्ने तर्फ सोच्दै सरकार प्रमुखलाई नै भेटेर यस बारे ध्यानाकर्षणको आवश्यकता छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला स्तरीय समितिले माथिल्लो निकाय समक्ष समस्या समाधानको आग्रह सहित लेखी पठाईसकेका कारण स्थानीय स्तरको आन्दोलन भन्दा केन्द्र तर्फ लाग्नु उपयुक्त तथा सान्दर्भिक पनि हुनेछ । नगर स्थापनाकाल देखि नै बसोबास गर्दै आएकाहरुलाई बिटौरी तिरेको आधार हुँदाहुँदै लालपूर्जा नरहेकै कारणबाट बसोबास गरेको स्थानबाट बेदखल गर्न अवश्य पनि सम्भव छैन ।

तसर्थ विभिन्न नाममा यस समस्यालाई लिएर चलखेल गर्नेहरुलाई त्यस्तो मौका दिने भन्दा पनि केन्द्रमा गएर पीडितलाई न्याय दिलाउनकालागि आग्रह,दवाव लगायत सबै आवश्यक पहल र प्रयास गरी स्थायी निकास दिन तर्फ लाग्न जरुरी छ ।

लेखकः उपाध्याय नेपाल पत्रकार महासंघ शाखा सप्तरीको पूर्व अध्यक्ष हुन् ।