न्यूज टुडे
राजविराज,२१ जेठ ।
जनता समाजवादी पार्टी नेपालका नेता एवम् पूर्व सिंचाइ मन्त्री उमेश कुमार यादवले राजबिराज नगरबासीको बिटौरी जग्गा प्रकरण समस्याको समाधान अबिलम्ब गर्नुपर्नेमा जोड दिएका छन् । पछिल्लो समय विटौरी जग्गाको लालपुर्जा माग गर्दै राजविराजमा भएको आन्दोलनप्रति चासो व्यक्त गर्दै उनले सामाजिक संजालमा बुधबार लामो स्टाटस लेख्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
उनले संघीय सरकारले नगरबासीको समस्या समाधानमा अग्रसरता दिएर ठोस नीति ल्याउनुपर्नेमा सुझाव दिएका छन् ।
‘सर्वप्रथम ,नेपाल सरकारले पुर्वन्यायाधीको नेतृत्वमा गठन गरेको भुमि समस्या समाधान समिति मार्फत हुन्छ की नेपाल सरकारले मन्त्रीपरिषदबाट निर्णय गरेर हुन्छ, आफ्नो मातहतका निकायलाई लिखित निर्देशन दिएर हुन्छ ? ,राजबिराज नगरबासीको बिटौरी जग्गा प्रकरण समस्याको समाधान अबिलम्ब गरिदिन हुन विनम्र निवेदन गर्दछु ।’ उनले उल्लेख गरेका छन्
पूर्वमन्त्री यादवले राजविराजको विटौरी जग्गालाई राजनीतिक पार्टी तथा व्यक्तिको चुनावी एजेण्डा तथा कसैको असुली धन्दा बनाएको टिप्पणी गरेका छन् ।
‘यो समस्या समाधान गर्ने मेरो चुनावी प्रतिबद्धता पनि थियो र आज पनि छ ।’ उनले उल्लेख गरेका छन् ‘यसैको नाममा चुनावी राजनीतिक खेती गर्नेहरूको खेती अन्त्य होस् ,असुली धन्दा बन्द होस् ।’
‘राजबिराज स्थापनाकाल देखि नै बसोबास गर्दै आउनुभएको नगरवासीहरुले बिटौरी जग्गाको कर तिर्दै आएको ,दाजुभाइमा अंश बिभाजन गर्दै आएको ,बेचबिखन एवम् बैंकिङ कारोबार गर्दै आएको सर्वबिदितै छ।’ उनले थपेका छन् ‘साथै भारतको जयपुर शहरको नक्साको अनुकरण गर्दै टाउन प्लानिङ्ग गरि बसाइएको नेपाल कै पहिलो शहर हो।’
आर्थिक बर्ष २०७५/०७६ तिर बाट बिटौरी जग्गामा बसोबास गर्दै आउनुभएको नगरबासीहरुलाई सो जग्गाको कुनै पनि प्रकारको कारोबार गर्न रोक लगाइएको उल्लेख गर्दै उनले नेपाल सरकारको सरोकारवाला मन्त्रालय भुमी ब्यबस्था ,सहकारी तथा गरीबी निवारण मन्त्रालयले यस सम्बन्धमा जग्गा ब्यबस्थापन गर्ने र सम्बन्धित ब्यक्तिको पहिचान गरि जग्गाधनी पुर्जा उपलब्ध गराउने भन्दै सूचना प्रकाशित गरेर समस्या समाधान नगर्दा उत्पन्न समस्याको समाधान नहुँदा राजबिराज नगरबासी प्रताडित छन् ।
बिटौरी जग्गामा बसोबास गर्दै आउनु भएकाहरुलाई जग्गाधनी पुर्जा उपलब्ध गराउन नेपाल सरकारले बेवास्ता एवम् बिलम्ब गर्नु हुदैन ।जग्गाको अंशबण्डा,बेचबिखन ,बैंकिङ्ग कारोबार रोकिदा त्यसले पारिवारिक ,व्यावसायिक कारोबार एबम आर्थिक संकट निम्त्याएको छ।’ उनले भनेका छन् ,’यसको असर यहाँको बजारको आर्थिक कारोबारमा समेत प्रत्यक्ष असर परेको छ।जग्गाको भविष्यलाई लिएर उत्पन्न मानसिक तनावले हुने ब्यक्तिगत ,पारिवारिक दुर्घटना एवम् समस्याहरु पनि त्यतिकै छन ।तसर्थ नेपाल सरकार गम्भीर बन्नै पर्छ ।’
केही सिमित स्वार्थी ब्यक्तिहरुले यसलाई दुहुनो गाई बनाउने , नगरबासीको यहीँ स्वभाविक पिडा र चिन्तालाई राजनीतिक रूपमा भजाउने, जातीय एवम् धार्मिक द्वन्द चर्काउँदै अगामी स्थानीय निर्वाचनलाई केन्द्र बिन्दुमा राखेर चलखेल गर्ने ,सो को लागि गलत भाष्यहरु खडा गर्दै जाने ,निश्चित ब्यक्ति ,समुदायलाई बदनाम गराउने काम योजनाबद्व रूपमा गर्दै आएकोप्रति असन्तुष्टि व्यक्त गर्दै उनले नगरपालिकाको टाउन प्लानिङ्गको समयमा रहेको नक्सा मिचेर घरहरू निर्माण गर्ने एवम् सार्वजनिक जग्गा हडप्ने कामको विरुद्धमा तिनीहरुले कहिल्यै आफ्नो एजेन्डा नबनाएको भन्दै आक्रोश पोखेका छन् ।
‘नगरपालिकाले सार्वजनिक जग्गा खाली गराउने सूचना प्रकाशित गर्ने र पर्दा पछाडिबाट असुल्ने काम गर्दा नै यी कामहरु बल्झिने गरेको चर्चाहरु हुने गरेको छ।’ उनले उल्लेख गरेका छन्, ‘गिरिबन्धु टी स्टेट जस्तै हिमाललय राइस मिल्स लगायतका जग्गाहरु बारेमा गम्भीरताका साथ नगरपालिकाले खुट्टा उभ्याउन नसक्नुको कारण खोतल्न जरुरी छ।’
उनले आफू जिम्मेवारीमा रहँदा राजविराजको विटौरी जग्गाको अहिले जस्तो समस्या नभएकोले अन्य समस्यालाई प्रथामीकीकरण गरि तत्काल नै समाधान गरिएको उल्लेख गरेका छन् ।
‘बिक्रम सम्वत २०७० मा जनताले मलाई संविधानसभामा निर्वाचित गरेको समयमा बिटौरी जग्गाको आज देखिएको समस्या त्यतिबेला थिएन’ उनले उल्लेख गरेका छन्, ‘त्यतिबेलाको महत्त्वपूर्ण कामहरु राजबिराजलाई खाँडोको बाढीबाट जोगाउने , यहाँको सडकहरुको चौतर्फी स्तरोन्नति गर्ने ,हटियाको भौतिक पुर्वाधार ,सरसफाइ ,भलुवाही कोरिडोर ,कबृस्तान,श्मशान घाट ,एयरपोर्ट संचालन ,बसपार्क निर्माणकार्यलाई अगाडि बढाउने जस्ता कामहरुलाई हामीले अगाडि बढाउन पहलकदमी लिएका थियौं ।ती कामहरु प्रक्रियामा अगाडि बढे ।’
बर्तमान समस्यालाई प्राथमिकतामा राखी विटौरी जग्गाको लालपुर्जा उपलब्ध गराई समस्या समाधान तत्काल खोज्नुपर्ने उनको कथन रहेको छ ।