उत्तम आचार्य
कञ्चनरूप, २० जेठ ।
सप्तरीको कञ्चनरूप नगरपालिका वडा नं. १२ रुपनगर, प्रगति टोलमा जन्मिएका नेपाली वैज्ञानिक रुचित कुमार रेग्मीले प्रविधिको क्षेत्रमा विश्वमै नेपालको नाम चम्काएका छन्। व्यावसायिक तथा सैन्य प्रयोजनका लागि उपयोगी बिनाचालकको विमान आविष्कार गरेपछि रेग्मी विश्वमा चम्किएका हुन् ।
विना चालकको विमान (Pilot-less Aircraft for Commercial and Military Use) प्रविधिलाई संयुक्त राज्य अमेरिकाको वाणिज्य विभाग (US Department of Commerce) ले पेटेन्ट राइट (आविष्कारको एकाधिकार) प्रदान गरिसकेको छ।
रेग्मीले विकास गरेको यस उन्नत ‘वाहन’ (Vahan) नामक अत्याधुनिक एभिएसन प्रविधिलाई युरोपको प्रख्यात विमान निर्माता कम्पनी एयरबस (Airbus) ले समेत सफलतापूर्वक परीक्षण गरिसकेको छ।
लामो संघर्ष र अन्वेषणको उपज
स्थानीय विद्यालयबाट प्रारम्भिक शिक्षा पूरा गरेका रेग्मी बाल्यकालदेखि नै प्रतिभावान र सृजनशील थिए। काठमाडौँबाट इलेक्ट्रोनिक्स इन्जिनियरिङमा डिप्लोमा, कमर्समा स्नातक तथा सूचना प्रविधि (IT) मा पोस्ट ग्रेजुएट डिप्लोमा गरेका उनले सन् २००४ सम्ममै यो प्रविधिको आधारभूत मोडेल तयार पारेका थिए। तर, उक्त आविष्कारलाई विश्व बजारमा प्रमाणित गर्न र अमेरिकी पेटेन्ट कार्यालयबाट कानुनी मान्यता पाउन उनलाई १० वर्षभन्दा बढी समय निरन्तर संघर्ष गर्नु परेको थियो।
यस प्रक्रियामा नेपाल सरकारले उनलाई दर्ता प्रक्रियाका लागि करिब ३५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो। सरकारको सोही सहयोगको सम्मान गर्दै वैज्ञानिक रेग्मीले आफ्नो व्यावसायिक आम्दानीको ५ प्रतिशत हिस्सा नेपाल सरकारलाई बुझाउने सम्झौता समेत गरेका छन्।
देश र गाउँकै गौरव
यो विमान व्यावसायिक रूपमा उत्पादन सुरु भएपछि यसको कुल मुनाफाको २ देखि ८ प्रतिशत हिस्सा रोयल्टीका रूपमा रेग्मीले प्राप्त गर्नेछन्। सप्तरीको एउटा दुर्गम गाउँ प्रगति टोलबाट उठेर विश्व प्रसिद्ध विमान निर्माता कम्पनीहरूसँग प्रतिस्पर्धा गर्ने स्थानमा पुग्नु कञ्चनरूप र समग्र नेपालकै लागि ऐतिहासिक गौरवको विषय बनेको छ