न्यूज टुडे
राजविराज, २० जेठ ।
लालपुर्जा माग गर्दै स्थानीयबासीले राजविराज नगरपालिकाको कार्यलयमा तालाबन्दीसहितको जारी आन्दोलनमा सप्तरी सुनचाँदी उधोग व्यवसायी संघले एक्यवद्धता जनाएको छ । संघले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघर्ष समितिको आन्दोलनमा एक्यवद्धता जनाएको हो ।
राजविराज बजारको स्थापना कालदेखि नेपाल सरकारबाट प्रदान गरिएको विटौरी जग्गामा बसोबास गर्दै आएको राजविराजबासीहरुले निशर्त लालपुर्जा पाउनु पर्ने संघले जोड दिएको छ ।
संघका अध्यक्ष नारायण रंजनद्वारा हस्ताक्षरित विज्ञप्तिमा जग्गाको लालपुर्जा पाउँ भनि पटकपटक सरकार समक्ष प्रस्ताव गरिएपनि हालसम्म नेपाल सरकारले चासो नदेखाएको उल्लेख गरिएको छ । ‘लालपुर्जा माग गरि राजविराज नगरपालिकाको प्राङ्गणमा धर्नामा बसेका राजविराज नगरबासीको आन्दोलनमा पूर्ण समर्थनका साथ एक्यवद्धता जनाउँछौ’ जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
१९९८ सालदेखि बसोबास गर्दै आएको नगरबासीलाई पटकपटक आश्वासन दिएपनि हालसम्म लालपुर्जा वितरण नगरेको नगरबासीको गुनासो छ । हकभोगको आधारमा जग्गाको लालपुर्जा उपलब्ध गराउनुपर्ने उनीहरुको एक सूत्रीय माग रहेको छ ।
नगरपालिकाले विटौरी कर लिदै आएपनि लालपुर्जा वितरणमा चासो नदिएको स्थानीयको आरोप छ । २०२८ सालमा राजविराज शहरको ६० विघा जग्गालाई नापी शाखाले गाउँ ब्लक दावी गर्दै श्रेस्ता कायम गरिएकोले त्यसलाई आधार मान्ने हो भनेपनि जग्गाको लालपुर्जा पाउनुपर्ने आन्दोलनकारीहरुको भनाइ छ ।
नगरपालिकामा कर बुझाएर बैंकमा जग्गा धितो राखी कारोबार हुँदै आएकोमा पछिल्लो समय विटौरी जगाको लालपुर्जा उपलब्ध गराउने भनी सरकारले बैंकलाई देशव्यापी पत्राचार गरेपछि बैंकले धितो बन्धक राख्न रोक लगाएको थियो ।
संघर्ष समितिले दुइसातादेखि धर्ना लगायतका विभिन्न दवाव मुलक संघर्षका कार्यक्रम गर्दै आएका छन् । विटौरी जग्गाको राजस्व राजविराज नगरपालिकामा बुझाउँदा समेत लालपुर्जा वितरणमा बेवास्ता गरेको भन्दै आक्रोशित उनीहरुले नापी कार्यालयसहितमा समेत तालाबन्दी गरी आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन् ।
राजविराज नगरपालिका अन्तर्गत १० विघे ब्लक जग्गाको भने यसअघि नापी शाखाको सिफारिसमा मालपोत कार्यालयबाट जग्गाधनी पूर्जा वितरण गरेको छ ।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक जग्गा खाली गर्न देशव्यापी उर्दी जारी गरेपछि राजविराजबासी थप सशंकित भएका छन् ।