नर्मदेव यादव
रुपनी, २० जेठ ।
मिटर व्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपालद्वारा जनकपुरमा मंंगलबारुपैयाँ विरोध प्रदर्शन गरेको छ । मिटर व्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपाल मिथिला-भोजपुरा कमाण्डद्वारा विरोध प्रदर्शन गरेको हो ।

मिटर ब्याज पीडित अदालतको निर्णय विरुद्ध जेठ ३ गते देखि धर्ना बसेको उनीहरुले १७ औं दिन अदालत घेराउ गर्दै विरोध प्रदर्शन गरिएको थियो । जनकपुर स्थित मण्डल कुटिबाट हजारौंको संख्यामा प्रदर्शनमा सहभागी पीडितहरुले सरकार, अदालत, प्रशासन, साहु महाजन, सुदखोरहरु विरुद्ध चर्को नारा लगाउदै अदालत घेराउ गरे ।
आन्दोलनलाई लक्षित गरि सुरक्षा व्यवस्था कडा पारी ठूलो संख्यामा प्रहरी परिचालन गरेपनि आन्दोलनकारीहरुले प्रहरी घेरा तोडेर अदालतको गेट बन्द गरि कोण सभा आयोजना गरेको थियो ।
कोणसभालाई सम्बोधन गर्दै मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपालका केन्द्रिय अध्यक्ष अवधेश कुशवाहाले नेपाल सरकारले पीडितको लागि अनुचित लेनदेन कानून बनाएपनि अधुरो नै रहेको बताए । कानूनलाई पूर्णता नदिंदा त्यसबाट झन महापीडित भएको बताउँदै उनले पीडितको पक्षमा कानून ल्याएर कार्यान्वयनका लागि आग्रह गरे ।
‘समाजमा सबैलाई थाहा छ, एक लाख ॠण लिएपछि तीन लाखसम्मको तमसुक बनाउँछ।’ उनले भने,’तर यो नयाँ सरकार गठन भएको दिन देखि सभन्दा बढी अदालतले पीडितहरुको घर जग्गा लिलाम र जेल पठाउने फैसलाहरु गरेको छ।’
हाल सम्म प्रहरीमा एक लाख ठाडो निवेदनहरु पीडित पक्षको परेको जानकारी दिदै उनले सरकारको डाटा अनुसार मिथिला भोजपुरामा मात्रै ७५ हजार पीडितहरुको निवेदन परेको उल्लेख गरे ।उनले देश भरमा टाडो निवेदनसहित ५ लाख पिडितहरुको निवेदन दर्ता भएको बताए ।
प्रधानमन्त्री बालेन्द्र शाहले चुनाव अगाडि न्यायीक अधिकार सम्पन्न आयोग बनाएर पीडितहरुको घर जग्गा फिर्ता तथा तमसुकलाई खारेज गर्ने भनी आश्वासन दिएको उनले खुलासा गरे । अध्यक्ष कुशवाहाले प्रधानमन्त्री शाहले बोलीमा अर्कै कुरा ब्यवहारमा अर्कै कुरा गर्दा पिडितहरुको विरुद्धमा सरकार देखाएको प्रष्ट भएको बताए । शान्तिपूर्ण आन्दोलनबाट सुनुवाइ नभए छिटै काठमाडौ केन्द्रित आन्दोलन गर्न बाध्य हुने बताउँदै उनले चाँडै सिहदरवार घेर्न आउने चेतावनी दिए ।
मिथिला भोजपुरा कमाण्डका अध्यक्ष मोहन महतोको अध्यक्षतामा आयोजित कोणसभालाई मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपालका केन्द्रिय प्रवक्ता नीर नवीन, महासचिव मनोज पासवान लगायतले सम्बोधन गरे ।
कार्यक्रम संचालन मुकेश पटेलले गरेका थिए ।