• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नयाँ आविष्कारमा सफलता हाँसिल गर्दै कञ्चनरूपका दिलिप 

नयाँ आविष्कारमा सफलता हाँसिल गर्दै कञ्चनरूपका दिलिप 
उत्तम आचार्य 
कञ्चनरूप,  २० जेठ । 
सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर १२ रुपनगर, प्रगति टोलका स्थानीय उद्यमी तथा आविष्कारक दिलिप रेग्मीले नयाँ मेसिन निर्माण गरेका छन्। विगतमा पनि सफल आविष्कार गरेर चर्चामा आएका रेग्मीले यसपटक आफैँले अचार बनाउने मेसिन पिक्कल मेकिङ्ग मेसिन तयार पारेका हुन्।
हाल उक्त मेसिनको प्राविधिक परीक्षण भइरहेको छ। मेसिनको प्रारम्भिक नतिजा निकै उत्साहजनक रहेको र आफू यस कार्यमा पूर्ण रूपमा सफल हुनेमा रेग्मी दृढ विश्वास व्यक्त गर्छन्। यो मेसिनले व्यावसायिक रूपमा अचार उत्पादन गर्ने कृषक र घरेलु उद्यमीहरूलाई ठूलो राहत पुर्‍याउने अपेक्षा गरिएको छ।
आविष्कारक रेग्मीले यस्तो नवप्रवर्तनकारी काम गरेको यो पहिलो पटक भने होइन। यसअघि उनले फोहोर प्लास्टिकलाई पुनर्प्रयोग (रिसाइकल) गरी ‘प्लास्टिक प्लाइउड’ बनाउने मेसिन सफलतापूर्वक निर्माण गरिसकेका छन्।
उक्त प्लाइउड मेसिनबाट अहिले उद्योगमा व्यावसायिक रूपमा काम सुचारु भइरहेको रेग्मीले जानकारी दिए। वातावरण प्रदुषण गर्ने प्लास्टिकलाई उपयोगी सामग्रीमा बदल्ने उनको अघिल्लो प्रयास स्थानीय स्तरमा निकै सराहनीय बनेको थियो।
सप्तरी जस्तो क्षेत्रमा सरकारी वा ठूलो कर्पोरेट सहयोग बिना नै व्यक्तिगत प्रयासमा यस्ता जटिल मेसिनहरू बन्नुले स्थानीय तहमा प्रविधिको ठूलो सम्भावना रहेको देखाउँछ। रेग्मीको यो निरन्तरको मिहिनेत र सफलताले उद्यमशीलता र प्राविधिक विकासमा लाग्न चाहने अन्य युवाहरूका लागि पनि ठूलो प्रेरणा दिएको छ ।