• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राजविराज नगरपालिका स्थापना कालदेखि नै बसोबास गर्दै आएका करीब पाँचहजार भन्दा बढी परिवार यति बेला चिन्तामा डुबेका छन् । यसको प्रमुख कारण हो आफूले भोगचलन गर्दै आएको जग्गाको लालपूर्जा अहिलेसम्म प्राप्त नहुनु ।

बिटौरी रसिदका आधारमा बसोबासको जग्गा भोगचलन गर्दै आएका उनीहरुको जग्गा धितो राखेर केही वर्ष अघिसम्म बैंकले ऋण लगानी गर्दै आएका कारण उनीहरुलाई लालपूर्जा नहुँदा पनि खासै समस्या थिएन । तर अहिले जग्गा धितो राख्नकालागि लालपूर्जा नै चाहिने भएपछि उनीहरु समस्यामा परेका हुन् । आफूसितको अचल सम्पत्ति धितो राखेर ऋण पाउने व्यवस्था सबैकालागि आवश्यक हुन्छ । साथमा नगद नरहेका तथा कुनै समस्या परेका खण्डमा त्यही जग्गा नै धितो राखेर ऋण लिन पाईन्छ भन्ने कुरामा ढुक्क भएर बस्ने हरेकको चाहना रहनु स्वाभाविकै हो । तर राजविराजका बिटौरी रसिदका आधारमा जग्गा उपभोग गर्दै आएकाहरुकालागि यो सुबिधा अहिलेसम्म उपलब्ध नरहेका कारण उनीहरुले पटक पटक आन्दोलन समेत गर्दै आउनु परेको छ । उनीहरुको समस्या समाधानमा नगरपालिका,नापी कार्यालय लगायत सम्बन्धित निकायले ध्यान दिन आवश्यक त हो । तर यी दुबै निकाय यस मामिलामा एकापसमा दोषारोपण गर्दै पन्सिन थालेपछि जनताका समस्या ज्युँ का त्युँ रहेको अवस्था छ ।

यो समस्याका बारेमा निर्वाचनका समयमा उम्मेदवारदेखि राजनीतिक दलहरु समेतले समाधानको प्रतिबध्दता,आन्दोलन प्रति ऐक्यबध्दता नजनाएका होईनन् । तर काम चाहिँ अहिलेसम्म नभएका कारण उनीहरुको आश्वासन पनि फोस्रो साबित भएको भनि पीडितहरुले गुनासो गरेका छन् । जनतामाथि परेको यस्तो समस्याका बारेमा गम्भीरताका साथ सोच्न जरुरी छ ।