न्यूज टुडे
राजविराज,१८ जेठ ।
सप्तरीमा चोरी तथा अभद्र व्यवहार कसुरमा तीन प्रतिवादी पक्राउ परेका छन् । राजविराज नगरपालिका ४ का बर्ष २४ को मो. सोनु, हनुमाननगर कंकालिनी नगरपालिका ३५ का दशरथ कुमार खत्वे र रुपनी ५ गडिया टोलका बर्ष ३० को जगरनाथ दासलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
राजविराज ६ बाट चोरी लगेको खसी समेत गरि मो.सोनुलाई रंगेहात पक्राउ गरिएको प्रहरीले बताएको छ । यसैगरी छिमेकीसंग बादविवाद भई अश्लील शब्द प्रयोग गरि फरार खत्वे खोजतलासको क्रममा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरी छिमेकीलाई अश्लील शब्द तथा हातपात गरि फरार दासलाई खोजतलास गरि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।
चोरीको आरोपमा पक्राउ परेका सोनु विरुद्ध चोरी कसुरमा मुद्दा दर्ता गरि सप्तरी जिल्ला अदालत राजविराजबाट ५ दिनको म्याद लिई अनुसन्धान अगाडि बढाइएको तथा दास र खत्वे विरुद्ध अभद्र व्यवहार कसुरमा मुद्दा दर्ता गरि जिल्ला प्रशासन कार्यालय सप्तरीबाट खत्वेको हकमा ७ दिन र दासको हकमा ४ दिनको म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।