अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट गत शुक्रबार प्रस्तुत गरे । बजेटमा सातै प्रदेशका विभिन्न योजनाहरुको फेहरिस्त तथा तिनकालागि व्यवस्था गरिएको बजेटका बारेमा समेत जानकारी दिईयो जसमा मधेश प्रदेशका पनि विभिन्न योजनालाई समाबेश गरिएको छ । यति हुँदाहुँदै पनि हुलाकी राजमार्ग अन्तर्गतको कमला पुलका बारेमा बजेटमा उल्लेख नरहेका कारण यसलाई उपेक्षा गरिएको भनि स्थानीयमा असन्तुष्टी देखिन थालेको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरसम्म जानकालागि उपयुक्त रहेको धनुषा र सिरहाको सिमामा रहेको कमला नदीको पुल भाँचिएका कारण आवागमनमा समस्या रहँदै आएको छ । उक्त पुल निर्माणकालागि विगतमा ठेक्का लागेर पनि काम नभएको र जनताले भोग्नु परेको सास्तीका बारेमा केन्द्रदेखि प्रदेश सरकार समेतको ध्यानाकर्षण गराउँदा पनि अहिलेसम्म केही नहुँदा जनताले यस पटकको बजेटमा त्यसले स्थान पाउला भन्ने आशा राखेका थिए । तर बजेटका क्रममा त्यस बारे उल्लेख नरहनाले फेरि पनि सास्ती नै खेप्नु पर्ने भयो भन्ने ठानेर जनता पुनः आन्दोलनको तयारीमा लागेको समाचार आएको छ ।
हुलाकी सडक स्तरोन्नतिको काम भएपछि त्यस आसपासका जनतालाई निकै सहजता आएकोमा आशंका छैन । तर यो पुल तयार नभएका कारणले सास्ती खेप्नु पर्ने अवस्था भने यथावत नै छ । हुनत यसपालिको बजेटमा हुलाकी सडकलाई रकम छुट्याईएको कुरा अर्थमन्त्रीले उल्लेख नगरेका होईनन् । तर कमला पुलको विषय त्यसमा समाबेश रहेको हो वा होईन भन्ने कुरा स्पष्ट पार्दा जनताले पनि वास्तविकता थाहा पाउन सक्ने थिए । उक्त कुरा उल्लेख नरहेका कारणले नै जनतामा निराशा बढेकोले प्रष्ट्याएमा अन्यौलता हट्ने छ ।