नेपाल तामाङ घेदुङका नवनिर्वाचित संघीय अध्यक्ष रामकृष्ण ब्लोनले तामाङ समुदायसहित सम्पूर्ण देशवासीलाई निराश हुन नदिने र घेदुङको शाखलाई सधै उचो राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । दशौ महाधिवेशनबाट निर्वाचित भएपछि नेपाल तामाङ घेदुङ सप्तरीद्वारा अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ चाँदनी बजार स्थित त्रीरत्न गुम्बामा आइतबार आयोजित बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
सम्मान ग्रहण गर्दै संघीय अध्यक्ष ब्लोन । फोटो : न्यूज टुडे
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ब्लोनले तामाङ समुदायले आफूसहितको सम्पूर्ण टिमलाई गरेको विश्वासलाई खेर जान नदिने बताए । सप्तरी घेदुङले सम्मान कार्यक्रम राखेकोमा खुशी व्यक्त गर्दै अध्यक्ष ब्लोनले आफुलाई ओढाएको खदा, सम्मानलाई आगामी सुझाव तथा कार्ययोजना र जिम्मेवारीको रुपमा लिएको बताए ।
बधाई तथा सम्मान कार्यक्रममा मञ्चासीन प्रमुख अतिथिसहित अतिथिगण । फोटो : न्यूज टुडे
सप्तरीमा थोरै तामाङ भएपनि विचारले पोख्त रहेको उल्लेख गर्दै कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष ब्लोनले तामाङ समुदायको समग्र विकासको कार्यमा कुनै राजनीतिक आस्थामा समर्पित भएपनि पार्टी भन्दामाथि उठेर समाजको हित हुने कार्यमा अगाडि बढ्न आग्रह गरे ।
नवनिर्वाचित उपाध्यक्ष काजीमान थिङले घेदुङले लिएको नीति र उदेश्य प्राप्तिका लागि कुनै कसर बाँकी नराखी बर्तमान कार्यसमितिले काम गर्ने विश्वास व्यक्त गरे ।
बधाई तथा सम्मान कार्यक्रममा सहभागीहरु । फोटो : न्यूज टुडे
महासचिव लिला कुमार घ्लानले निर्वाचित भएदेखि पूर्वबाट सुझाव संकलन र भेटघाट कार्यक्रमलाई निरन्तरता दिएको बताउँदै प्राप्त सल्लाह सुझाव र समस्यालाई नवनिर्वाचित कार्यसमितिले आगामी कार्ययोजनामा समेट्ने बताए ।
भिक्षु प्रज्ञारत्न, भिम बहादुर बलले सामाजिक रुपान्तरणका लागि बुद्ध शिक्षा अपरिहार्य रहेको बताए । उनले सामाजिक परिबर्तनका लागि बुद्ध मार्ग अवलम्बन गर्नुको विकल्प नरहेको बताउँदै सबैले बुद्ध शिक्षा अनुशरण गर्नुपर्नेमा जोड दिए ।
नेपाल तामाङ घेदुङ जिल्ला कार्यसमिति सप्तरीका अध्यक्ष सूर्यमान सिंदन तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा निवर्तमान संघीय सदस्य एवम् सप्तरी जिल्ला इन्चार्ज भिम बहादुर घिसिङ, पूर्व केन्द्रीय सदस्य मेख बहादुर बम्जन, खड्ग बहादुर योन्जन, नेपाल आदिवासी जनजाति महासंघ सप्तरीकी उपाध्यक्ष भद्र कुमारी सिंदन, नेपाल तामाङ युवा घेदुङ सप्तरीका अध्यक्ष नवराज योन्जन लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका महासचिव एवम त्रीरत्न गुम्बाका अध्यक्ष बृजमान तामाङद्वारा संचालित कार्यक्रममा स्वागत नेपाल तामाङ घेदुङ मधेस प्रदेशका सदस्य अशोक कुमार योन्जनले गरे ।
कार्यक्रममा सप्तरी घेदुङ आबद्ध स्थानीय तहका पदाधिकारी तथा तामाङ अगुवाहरुको सहभागिता रहेको थियो ।