सप्तरीको अग्नीसाइर कृष्णासवन गाउँपालिका २ स्थित बनदेवी सामुदायिक वनको कुसुम डाँडामा आइतबार विपसना ध्यानकेन्द्र स्थापना गरिएको छ । धम्मा श्रवण बुद्ध विहार व्यवस्थापन समिति भुर्की सितापुरद्वारा आयोजित एक समारोहका वीच विपसना ध्यानकेन्द्र स्थापना गरिएको हो ।
आयोजक समितिका अध्यक्ष छोटेलाल चौधरीको अध्यक्षता तथा भिक्षु प्रज्ञारत्नको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमको वीच शान्तिको झण्डा फहराएर तथा बृक्षरोपण गरेर ध्यानकेन्द्र स्थापना गरिएको थियो ।
‘रुख रोपौ, वन जोगाऔं’ भन्ने मुल नाराकासाथ आयोजित कार्यक्रममा सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष रामपूजन चौधरी र धम्म श्रवण बुद्ध विहार व्यवस्थापन समितिका अध्यक्ष चौधरीले संयुक्त रुपमा बृक्षरोपण गरि बुद्ध विहार तथा विपसना ध्यान केन्द्रको स्थापना गरे ।
ध्यान केन्द्र स्थापना कार्यक्रमम सहभागीहरु । फोटो : न्यूज टुडे
कार्यक्रममा धर्मोदयसभा सप्तरीका अध्यक्ष महेश कुमार चौधरी, उपाध्यक्ष माहावीर प्रसाद चौधरी,स्थानीय युवा नेता राम कुमार यादव, अनिल मगर, विमला तामाङ, स्थानीय बुद्धिजीवीहरु बम बहादुर राउत, बाबुराम थापा, निरमाया बल, लिला योन्जन, गणेश मगर, विशाल थापा, खुशी तामाङ, समितिका पदाधिकारीहरु लगायत स्थानीय समाजसेवीहरुको उपस्थिति थियो ।
ध्यान केन्द्र स्थापनाका लागि नगद सहयोग गर्दै निरमाया बल । फोटो : न्यूज टुडे
त्रीशरण पञ्चशील धारण, बुद्ध पूजा, परित्राण, विपसना ध्यान र दान प्रधान तथा पुण्य अनुमोदन गरि कार्यक्रम समापन गरिएको थियो ।
उक्त अवसरमा भिक्षुकुटी निर्माणका लागि स्थानीय निरमाया बल तामाङले ५० हजार रुपैयाँ सहयोग समेत गरेकी थिइन् ।
सामुदायिक वन क्षेत्र भित्र रहेको मनोरम प्रकृति दृष्यले भरिपूर्ण स्थलमा धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास हुने प्रचुर सम्भावना देखिएकाले यसलाई सार्थक तुल्याउने योजनाका साथ ध्यान केन्द्र स्थापना गरिएको व्यवस्थापन समितिका अध्यक्ष चौधरीले जानकारी दिए ।
वन क्षेत्रको संरक्षण, विभिन्न जरीबुट्टीसहितको बृक्षारोपन,विशाल बुद्ध मुर्ति स्थापना, विभिन्न पार्क निर्माण, बोटिङ्गको व्यवस्था,मधेस प्रदेशकै प्रथम बिपसना ध्यानकेन्द्र, पिकनिक स्पोर्ट्स लगायतका पूर्वाधार निर्माण गरि विश्वका पर्यटकको आकर्षण केन्द्रको रुपमा विकास गर्ने सोचकासाथ थालनी गरिएको व्यवस्थापन समिति अध्यक्ष चौधरीले बताए ।