न्यूज टुडे
राजविराज, २६ बैशाख ।
नेपाल तामाङ घेदुङका संघीय उपाध्यक्ष धर्म डुम्जन लामाले कुनै पनि बहानामा गुम्मा भत्काउने कार्य बौद्धधर्म माथिको आक्रमण भएको बताएका छन् । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ स्थित चाँदनी चौकमा शनिबार त्रिरत्न गुम्बा व्यवस्थापन तथा विकास समितिको तेस्रो अधिबेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अधिबेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै संघीय उपाध्यक्ष लामाले काठमाडौमा सुकुम्बासी बस्ती हटाउने नाममा संघीय सरकारले गुम्बामा डोजर चलाएर लाखौं बौद्धधर्मावलम्बीहरुको आस्थामाथि आक्रमण गरेको बताए । सरकारले गुम्बा भत्काएर बौद्ध धर्मावलम्बीको अपमान गरेको भन्दै उनले सरकारको विभेदकारी नीति विरुद्ध एकजुट हुनुपर्नेमा जोड दिए ।
सरकारको रवैयाले लाखौं तामाङ समुदाय तथा बौद्ध धर्मावलम्बीको आत्मा सम्मानमा ठेस पुगेको बताउदै उनले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीमा सुधार नआए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए ।
गुम्बामा मुर्ति स्थापना, ढोका निर्माण, पूजा सामाग्री व्यवस्थापनमा आफ्नो पनि साथ र सहभागीता रहेको चर्चा गर्दै कार्यक्रमका प्रमुख अतिथि लामाले गुम्बाको भौतिक निर्माणका कार्यसहित सम्पूर्ण क्रियाकलापमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल तामाङ घेदुङका संघीय सदस्य एवम् गुम्बाका सल्लाहकार भिम घिसिङले सरकारी तथा विभिन्न व्यक्तिले गुम्बा निर्माणमा सहयोग गरेको स्मरण गराउँदै पूर्वाधार निर्माण कार्यमा थप सहयोग पाउने विश्वास व्यक्त गरे ।
नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सूर्यमान तामाङले गुम्बाको विकासले तामाङ समुदायको धार्मिक तथा साँस्कृतिक संरक्षणमा टेवा पुग्ने भन्दै गुम्बाको समग्र विकासमा समितिले पुर्याउएको योगदानको प्रशंसा गरे ।
त्रिरत्न गुम्बाका अध्यक्ष खडग बहादुर योन्जनको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा नेपाल तामाङ घेदुङका पूर्व केन्द्रीय सदस्य एवम् गुम्बाका सल्लाहकार मेख बहादुर बम्जन, पूर्व जिल्ला अध्यक्ष एवम् गुम्बाका सल्लाहकार सन्तमान गोले, नेपाल तामाङ घेदुङ मधेस प्रदेश सदस्य अशोक योन्जन, नेपाल आदिवासी जनजाति महासंघ सप्तरीकी उपाध्यक्ष भद्र कुमारी सिंदन, नेपाल तामाङ यूवा घेदुङ सप्तरीका अध्यक्ष नवराज योन्जन, जग्गा दाता समेत रहेका राजविराज घेदुङका अध्यक्ष देवेन्द्र घिसिङलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
गुम्बाको सभाहलमा आयोजित कार्यक्रमको संचालन त्रिरत्न गुम्बाका सचिब बृजमान तामाङले गरेका थिए ।