न्यूज टुडे
राजविराज,२४ बैशाख ।
सिरहा लहान नगरपालिका १० का ४७ बर्षिय मो.सदाम र सोही स्थानका बर्ष ६० को मो. ताहिर मियाँलाई अपहरणपछि गोली प्रहार गरि घाइते बनाएको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनामा संलग्न सप्तरीका विभिन्न स्थानका उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी गराएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार रुपनी गाउँपालिका ५ बस्ने नथुनी मियाको छोरा बर्ष ४३ को हजरत मियाँ,राजगढ गाउँपालिका ६ बस्ने ओलि महम्मदका छोरा बर्ष ४५ को मंजित मियाँ, खडक नगरपालिका ५ खरचुहियाका सुलेमानको श्रीमती बर्ष ४२ की मिना खातुन, सोही नगरपालिका ६ विरपुरका शुभनी मियाका ४८ बर्षिय छोरा मुमताज मियाँ र सुरुङ्गा नगरपालिका ३ का छ्टु मोचीको छोरा बर्ष ३५ को उपेन्द्र मोची पक्राउ परेका छन् ।
२०८२ माघ ४ गते खडक नगरपालिका ५ खरचुहियाका सुलेमानको श्रीमती बर्ष ४२ की मिना खातुनको घरमा जमिन खरिद गर्न आएका सदाम र ताहिरलाई अपहरण गरि रकम लुटेर गोली हानी घाइते बनाएको आरोपमा उनीहरुलाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।
मिना खातुन सहित पक्राउ परेका पाँचैजना विरुद्ध अपहरण शरीर बन्धक तथा ज्यान मार्ने उधोग कसुरमा मुद्दा दर्ता गरि सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइ थप अनुसन्धान अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ पार्ने मध्ये खडक नगरपालिका विरपुरका मुमताज मियामाथि १३ वटा ठगी सम्बन्धि मुद्दा रहेको तथा सुरुङ्गा ३ का उपेन्द्र मोचीमाथि ज्यान सम्बन्धि कसुरको मुद्दा समेत रहेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बरबहादुर पुरीले जानकारी दिए ।
मम्ताज विरुद्ध स्नेह कुमार चौधरी,महेन्द्र प्रसाद माझी,संतोष कुमार चौधरी, मो.जालम, मनोज राय, हरिलाल मुखिया, भरत कुमार ठाकुर,महेश कुमार यादव,ग्यानेश्वर प्रसाद माझी, विजय यादव,रामसेवक मोची,मो.नौसाद अली, हेमशंकर साहले ठगी मुद्दा दर्ता गराएका थिए । तर उनी फरार रहेका थिए ।
यसैगरी उपेन्द्र मोची विरुद्ध रामविलाश मोचीले ज्यान सम्बन्धि कसुर मुद्दामा जाहेरी दर्ता गराएपनि ऊनी फरार थिए ।