राजविराज नगरवासीले बिहिवार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । करिब ६६ वर्ष देखि लालपूर्जाका लागी संघर्षरत नगरबासीले प्रधानमन्त्रीलाई ७ दिने अल्टिमेटम सहितको ध्यानाकर्षण पत्र बुझाइएको हो ।
लालपूर्जा प्राप्तीका लागी नगरवासीद्वारा गठित जनआन्दोलन परिचालन समितिले लालपूर्जा प्रदान गर्न तथा विगतमा बैंक तथा वितिय संस्थामा उक्त जग्गा धितो राखेर पाइने गरेको ऋण सुविधा पुनः सुचारू गर्नु पर्ने २ बुँदे मांग अघि सार्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा अन्य सरोकारवाला निकायमा ध्यानाकर्षण पत्र पठाएका छन् ।
जन आन्दोलन परिचालन समितिका संयोजक खेलानन्द दासको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय सप्तरी पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी टुबराज पोखरेल मार्फत प्रधानमन्त्री तथा अन्य सरोकारवाला निकायललाई ध्यानाकार्षण पत्र बुझाएका हुन् ।
ध्यानाकर्षणपत्र बचन गर्दै संघर्ष समितिका संयोजक खेलान्न्द दास । फोटो : न्यूज टुडे
ध्यानाकर्षण पत्रमा विगतमा आन्दोलनकारी पक्ष संग गरिएको सहमति हाल सम्म कार्यान्वयन नभएकोले पुनः आन्दोलनमा जान बाध्य भएको उल्लेख छ । ध्यानाकर्षण पत्रमा राजविराजको मुख्य बाजार तथा आसपासका गरी ७० बिगहा क्षेत्रफलमा राजविराज नगर स्थापना काल देखि नै बसोवास गर्दै आएका ५ हजार भन्दा बढी परिवार हाल सम्म लालपूर्जा पाउन नसकेको तथा समस्या परेका बेला नगरपालिकाबाट पाएको रसिदकै आधारमा बैंक तथा वितिय संस्थामा उक्त जग्गा धितो राखी पाउँदै गरेको ऋण सुविधा पनि विगत ८ वर्ष देखि रोकिदा नगरवासी समस्यामा परेको उल्लेख छ ।
यसैगरी ध्यानाकर्षण पत्रमा २०२८ सालमा राजविराज नगरपालिका क्षेत्रको नापी हुँदा उक्त जग्गाहरू गाउँ ब्लकमा रहेको भनि नापीको फिल्ड बुकमा स्पष्ट उल्लेख भएको, २०१६ साल देखि २०७५ साल सम्म उक्त जग्गाको खरिद बिक्री हुँदै आएको, अंशबण्डा, रजिष्ट्रेशन पास तथा बैंकमा धितो राखी ऋण पाउने गरेको, राजविराज नगरपालिकाको मिति २०८२ कार्तिक २८ गते बसेको नगर परिषदको बैठकले समेत लालपूर्जा प्रदान गर्न नापी कार्यालयलाई सिफारिश गरि सकेको तथा नापी कार्यालयले पनि व्यक्तिको स्वामित्वमा रहेको उक्त जग्गाको लालपूर्जा प्रदान गर्न लागिएको भनी ३ पटक सूचना जारी गरिएको भएपनि हाल सम्म लालपूर्जा वितरण कार्य सुरू नगरिएको प्रति असन्तुष्टि व्यक्त गरिएको छ ।
ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले तत्कालै सम्बन्धित निकायमा पठाउने तथा आफूले पनि शुक्रवार सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधी तथा संघर्ष समितिका पदाधिकारी राखेर छलफल गरी निकास निकाल्ने प्रतिबद्धता जनाएको जनआन्दोलन परिचालन समितिका संयोजक दासले बताए ।
यस अघि उक्त समस्यालाई लिएर तत्कालिन प्रतिनिधिसभा सदस्य रन्जु ठाकुर, दिनेश कुमार यादव, मृगेन्द्र कुमार सिंह यादव, प्रदेश सांसद किरण कुमारी साहले पटक पटक सदनमा कुरा उठाएका थिए । यस्तै इरशाद अंसारीको अध्यक्षतमा गठित संघर्ष समितिले पनि आन्दोलनका विभिन्न कार्यक्रम संचालन गरेका थिए ।
पछिल्लो पटक नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामजी यादवले समेत सदनमा यो मुद्दा जोडदार रूपमा उठान गर्दै अविलम्ब राजविराज नगरवासीलाई लालपूर्जा प्रदान गर्न मांग गरेका छन ।