न्यूज टुडे
राजविराज,२० बैशाख ।
नेपाल तामाङ घेदुङ संघीय समितिद्वारा सुकुम्बासी बस्तीमा डोजर चलाउने कार्य तत्काल रोक्न माग गरेको छ । घेदुङका संघीय महासचिव जगतमान लामा दोङद्वारा आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो ।
नेपाल सरकारले पर्याप्त समय अगावै सूचना, सम्वाद र उचित बैकल्पिक व्यवस्थापन नगरी काठमाडौ उपत्यका लगायत देशका विभिन्न क्षेत्रमा सुकुम्बासी बस्ती खाली गर्ने नाममा डोजर चलाएको र यसले समस्या झन् झन् विकराल बन्दै गएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
‘सरकारको यस कदमबाट हजारौंको संख्यामा नेपाली नागरिकहरु विस्थापन हुनु पुगेको र मानवीय रुपले विक्षिप्त भई रविन तामाङ र इन्द्र बहादुर राईले आत्माहत्या समेत गरिसकेका छन्’घेदुङद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ,’विरामी, अशक्त, बृद्वबृद्वा र सुत्केरीको बेहाल छ । धार्मिक आस्थाको केन्द्रहरु गुम्बा, मन्दिर र चर्च समेत भत्काएको छ । पढ्दै गरेका बालबालिकाहरु गम्भीर मानशिक समस्यामा परेका छन् ।’
सुकुम्बासी बस्तीबाट निकालिएका व्यक्ति र परिवारलाई बस्नका लागि कोठाभाडामा समेत नपाउने स्थित सिर्जना भएको तथा सुकुम्बासी भन्ने थाहा पाउने बित्तिकै घरवेटीले निकाली दिएका समाचारहरु आइरहेको उल्लेख गर्दै प्रेस विज्ञप्तिमा सरकारको व्यवहारले सुकुम्बासीप्रति समाजको हेर्ने दृष्टिकोण नै बदलिँएकोले उनीहरु अनागरिक जस्तै बन्न पुगेकोले यसले संबैधानिक तथा न्यूनतम मानवाधिकार समेत हनन हुन पुगेको बताइएको छ ।
‘आफै देशको नागरिकलाई बसिरहेको ठाउँबाट बस्ती खाली गराउनु पूर्व उचित व्यवस्थापन नगरी फौजी बलमा भय र त्रासको बाताबरण सिर्जना गरि बस्तीमाथि हतारमा डोजर चलाइ विध्वंस मच्चाउने यो कार्य मानवता विरोधी हो भन्ने हाम्रो ठहर छ ।’ संघीय घेदुङद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
खाली गराइसकिएको बस्तीबाट विस्थापन हुन पुगेका नागरिकलाई उचित बसोबासको व्यवस्था, मानसिक तनावका कारण आत्माहत्या गरेका व्यक्तिका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने उल्लेख गर्दै घेदुङले खाली गराउन बाँकी क्षेत्रका जनतासंग परामर्श, सम्वाद र उचित व्यवस्थापन नगरी डोजर चलाउने कार्य रोक्न नेपाल सरकारसंग जोडदार माग गरेको छ ।