आइतबार मई ३ तारिखको अवसर पारेर मुलुकमा पनि विश्व प्रेस स्वतन्त्रता दिवस मनाईएको छ । लोकतन्त्रका लागि स्वतन्त्र प्रेसको अपरिहार्यतालाई मध्यनजर गरेर नै यस्ता दिवस मनाउने गरिएका हुन् ।
प्रेसको महत्व यसले खेल्ने गरेको भूमिकाका कारणले गर्दा नै बढेकोमा दुई मत नहोला । तर मुलुकमा प्रेस स्वतन्त्रतामाथि दमन र आक्रमण बढ्दै गएको एक प्रतिवेदन आएको छ । यस्तो अवस्थामा हुनु पक्कै पनि चिन्ताको विषय हो । फ्रिडम फोरमले सार्वजनिक गरेको बार्षिक प्रतिवेदनमा एक वर्षको अवधि भित्र ९७ वटा प्रेस स्वतन्त्रता उल्लंघनका घटना रहेको अभिलेख समावेश गरिएको छ । अघिल्लो वर्षको तुलनामा यो संख्या बढेको उल्लेख रहनुले प्रेस माथिको जोखिम बढ्दै गएको भनी बुझ्न गाह्रो नपर्ला । प्रतिवेदन अनुसार एक वर्ष भित्र पत्रकारलाई २८ वटा धम्की तथा ज्यान मार्ने चेतावनी, २० वटा आक्रमण, १८ वर्ष अवरोध र तोडफोडका घटना भएका छन् । प्रतिवेदन अनुसार कूल प्रभावित मध्ये ३७ पत्रकारले धम्की तथा ३० जना आक्रमणमा परेको उल्लेख छ । जनतालाई सूचना सम्प्रेषण गर्ने पत्रकार नै यसरी निशानामा पर्दा पनि राज्यले उनीहरुको भरपर्दौ सुरक्षा गर्न नसकिरहेको तीतो यथार्थ विगतको अनुभवले नै दर्शाईरहेको मान्न सकिन्छ । आवाजविहीनको आवाजका रुपमा चिनिएको प्रेस जगत आफै असुरक्षित रहेपछि कसरी काम गर्न सकिन्छ भन्ने प्रश्न त छँदैछ, यसका साथै बढ्दो बेथिति, विकृति, विसंगतिका बीच प्रेसलाई कमजोर तुल्याउँदै जाने हो भने यसले स्वेच्छा चारिता तथा दण्डहीनतालाई नै प्रश्रय मिल्दै जानेमा आशंका रहने छैन ।
लोकतन्त्र तथा विधिको शासन कायम राख्दै विचार तथा अभिव्यक्तिको स्वतन्त्र तथा विधिको शासन कायम राख्दै विचार तथा अभिव्यक्तिको स्वतन्त्रतालाई अक्षुण तुल्याउन सबल प्रेसको अनिवार्य आवश्यकता रहन्छ । यस मानेमा पत्रकारको सुरक्षा प्रति सरकार गम्भीर बन्नै पर्ने हुन्छ ।