• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीका प्रहरी प्रमुखको विवादास्पद संवाद : के हो वास्तविक ? 

सप्तरीका प्रहरी प्रमुखको विवादास्पद संवाद : के हो वास्तविक ? 
न्यूज टुडे
राजविराज,०६ बैशाख । 
सप्तरीका प्रहरी प्रमुख  प्रहरी उपरीक्षक गौतम कुमार केसी र एक युवकले गरिएको संवादको क्लिपहरू सुन्दा विवादास्पद जस्तो देखिए पनि, यस्तो संवाद किन र कुन सन्दर्भमा भएको हो भन्ने आम चासोको विषय भएको छ । आइतबार बिहानदेखि सामाजिक सञ्जालमा दुईवटा अडियो/भिडियो क्लिप भाइरल भएपछि जनचासो बढेको हो । 
ती अडियो/भिडियोको पहिलो क्लिपमा जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम केसी र मुस्तकिम आलमबीचको टेलिफोन संवाद रहेको भनिएको छ । उक्त संवाद नयाँ वर्षको शुभकामना आदानप्रदानबाट सुरु भई पछि “तिम्रो दिमाग सर्केको हो ? के भयो ? के लेखेको त्यो ?” जस्ता अभिव्यक्तिहरू प्रयोग भएको करिब ५ मिनेटभन्दा लामो अडियो सुनिन्छ ।
त्यसैगरी, अर्को क्लिपमा विक्की सिंहसँगको संवाद रहेको सामाजिक सञ्जालमा भाइरल  छ । उक्त अडियोमा “मुस्तकिम आलम को हो ?” भन्ने प्रश्नमा “रामजीको सचिवालय रहेको मान्छे हो, केटा राम्रो छ” भन्ने जवाफ आएपछि थप संवाद अघि बढेको सुनिन्छ ।
यी अडियो/भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया र टिकाटिप्पणी बढिरहेका छन् । क्लिपहरू सुन्दा विवादास्पद जस्तो देखिए पनि, यस्तो संवाद किन र कुन सन्दर्भमा भएको हो भन्ने कुरा अझै स्पष्ट भएको छैन ।
यदि अडियोमा सुनिएको आवाज साँच्चिकै सम्बन्धित प्रहरी अधिकारीकै हो भने, यसबारे स्पष्ट पार्नुपर्ने दबाब बढ्न थालेको छ । यदि उक्त अडियो/भिडियो अनाधिकारिक रूपमा तयार पारिएको हो वा कसैलाई बदनाम गर्ने उद्देश्यले फैलाइएको हो भने, त्यसबारे पनि सत्य तथ्य बाहिर ल्याउनुपर्ने सरोकारवालाहरूले टिप्पणी तर्क गर्न थालेका छन् ।
हालसम्म उक्त अडियो/भिडियोको प्रामाणिकता पुष्टि भइसकेको छैन । यस विषयमा आधिकारिक धारणा आउन बाँकी रहेकाले, सत्य तथ्य पुष्टि नभएसम्म बिना प्रमाण यस्ता सामग्रीलाई आधार मानेर गलत धारणा बनाउनु वा निष्कर्ष निकाल्नु उचित नहुने पनि एक थरीको भनाइ छ । 
जिल्ला प्रहरी कार्यालय सप्तरीले गलत लान्छना तथा अपुष्ट सामाग्री समाजिक संजालमा सार्वजनिक नगर्न भनी सचेत गराएको थियो ।