बृजमान तामाङ
राजविराज, ०५ बैशाख ।
सप्तरीको अग्नीसाईर कुष्णासवरन गाउँपालिका वडा नम्बर २ का दशरथ खंग ४१ वर्ष पुगिसक्दा पनि देशको नागरिक बन्न सकेका छैनन् । नागरिक बन्न नपाउँदा उनको परिवार नै बिचल्लीमा छन् ।
बाजे खुशी खंग र बुवा युक्ति खंगका एक मात्र सन्तान दशरथ २०४२ पुस १८ गते सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ भुर्कीमा जन्म भइ सोही ठाउँमा बसोबास गर्दै आएका छन् । सानै उमेरमा बुवाको मृत्यु भएपछि दशरथ अहिले पनि जन्मदर्ताबाट बन्चित छन् ।
जन्म दर्ता बनाईदिने कसैले चासो नदिएको र बुवाको नागरिकता समेतको कुनै जानकारी नपाएका नेपाली नागरिकको पहिचान गुमाएका उनको चौविस बर्ष अगाडि २०५९ मंसिर २५ गते रुपनी गाउँपालिका ३ हर्दियाकी सुजानदेवी खंगसंग सामाजिक परम्परा अनुसार विवाह भएको थियो । विवाहको २ बर्षपछि एक छोराको जन्म भइ परिवार सहित ऊनी अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ स्थित भुर्कीमै बस्दै आएका छन् ।
दशरथको बुवाको मृत्यु भएपछि पतिवियोगमा परेकी उनको आमाको पनि मृत्यु भईसकेको छ । तीन पुस्तादेखि त्यहाँ बसोबास गर्दै आएपनि उनको बुवा आमा दुबैजनाको मृत्यु भएपछि कलिलो उमेरमा टुहुरो भएका दशरथको जन्मदर्ता र नागरिकता बन्नमा थप समस्या भयो ।
ठूलो बुवा मुक्ति खंगको सप्तरीकै नागरिकता भएकाले उनी जन्मदर्ताका लागि पटकपटक वडा कार्यालय पुगेका थिए । जन्म दर्ता गरेर नागरिकता बनाउने पटकपटकको प्रयास विफल भएपछि देशको नागरिक नबनी मरिन्छ र छोरा र नातीनातीनीको विजोग हुन्छ भन्ने चिन्ताले उनलाई यतिबेला सताई राखेको छ ।
सम्पत्तिको नाममा केही छैन् । अर्काको १५ धुर जग्गामा एउटा झुप्रो ठड्याएर सबै परिवार त्यहीँ झुप्रोमा गुजारा गर्दै आएका छन् ।उनको परिवारले सुत्ने,बस्ने, खाना पकाउनका लागि बटुलेर राखेको दाउरा राख्ने सबै काम त्यहीँ झुप्रोमा हुन्छ । झुप्रोको छानाको प्वालबाट बाहिरको घाम भित्र पस्छ।पानी चुहिन्छ । पानी परेको दिन परिवारै रातभर जाग्राम बसेर बिताउनुपर्ने बाध्यता रहेको दशरथका श्रीमती पूजानदेवीको दुखेसो छ ।
श्रीमान श्रीमती नै मजदुरी गर्छन् । अर्काको छोराछोरीलाई पढेको देख्दा आफ्नो छोरा नातीनातिनीलाई पनि पढाएर ठूलो मान्छे बनाउने धोको दशरथ दम्पतिको रहेको छ ।
छोरा अर्जुन खंगलाई ५-६ कक्षासम्म पढाए पनि जन्मदर्ता नभई नहुने भएकोले बिद्यालयबाट उनी बाध्य भएर निस्कनु परेको थियो । आफ्नो नागरिकता र छोरा नातीनातिनीको जन्मदर्ता नभएकै कारण आफ्नो र छोरीहरूको सपना हावाले उडाए झै उडाएको दशरथको भनाई छ ।
आफ्नो र छोराको जन्म दर्ताको लागि पटकपटक वडा कार्यालय जाँदा जन्मदर्ता नबनाई दिएको दशरथको गुनासो छ । आफ्नो जन्मदर्ता र नागरिकताको लागि गरिएको प्रयास असफल हुँदा २१ बर्षिय छोरा अर्जुन, ५ बर्षिय नातीनी निकिता खंग र ३ बर्षिय नाति रोहन जन्म दर्ताबाट बञ्चित भएको उनले दुखेसो सुनाए ।
जन्ममदर्ता नभएर बिद्यालय छोड्नु परेको दिन छोरा आर्जुन धुरूधुरू रोएको दृश्य सम्झेर उनकी आमा सुजानदेवीले बरर आँसु झारिन् ।उनले भनिन्,´बिद्यालय जानबाट वञ्चित भएपछि छोराको विवाह गरिदिन बाध्य भएँ।’
छोरा अर्जुनलाई आफ्नो खुट्टामा उभिन सक्ने नभई विवाह गर्नुहुँदैन भन्ने थाहा थियो । जन्मदर्ता नभएपछि उनी कक्षा ६ मा पढ्दै गर्दा विद्यालयबाट निकालिए । पढ्न नपाएपछि घरमा त्यसै बस्नुपर्दा, खान,लगाउन, बस्न समेत समस्या भएपछि श्रीमती र नातीनातिनीलाई घरमा छोडेर मजदुरीका लागि अर्जुन काठमाडौ गएको उनले बताए ।
छोरा अर्जुनले शम्भुनाथ नगरपालिका ९ लतियाहीकी फुलनदेवीसंग ६ बर्ष अघि विवाह गरेको दशरथले बताए ।
“विवाह गरेर पनि छोरा बुहारीलाई पनि चइन छैन्, दशरथले भने , ‘जन्म दर्ता नभएकोले उनी माथी पीडामा पीडा थपिएको छ ।”
आफूले त जीवनको आधाबढी उमेर कटाएपनि छोरा, नातीनातिनीलाई देशको नागरिक बनाउन नसकेपछि आफ्नो जीवनमा बज्रपात भए जस्तै अनुभुति हुदै आएको उनी बताउँछिन् ।
छोरा अर्जुन कक्षा -६ सम्म स्थानीय विद्यालयमा पढे । बिद्यालय गयो की शिक्षकहरूले जन्म दर्ता मागेपछि कचकच सुन्नुभन्दा बिद्यालय छोडेर विवाह गरेर मजदुरी गर्न काठमाडौ गएको आमा सुजानदेवी बताउँछिन् । नातीनी नाती दुबैजना स्थानीय विद्यालयमा बालकक्षामा पढ्छन् तर उनीहरुको जन्म दर्ता नहुँदा विद्यालयबाट कतिखेर निस्कासन हुन्छ भन्ने चिन्ताले सताइ रहेको उनी बताउँछिन ।
सोही ठाउँका जयकृष्ण खंगले भने,´हामी यस बस्तीमा सबै बिपन्न छौं तर दशरथ हामी सबैभन्दा विपन्न र पीडित छन् । उनको छोराको जन्मदर्ता नभएकोले बिद्यालयबाट निकालिएको थियोे । “गाउँकै एकजना दाईले विद्यालयमा गएर भनसुन गरेपछि फेरी बल्लतल्ल बिद्यालय जान दिन थालेको थियो” उनले भने,”जन्म दर्ता नभएकै कारण उनी विद्यालयबाट निकालिए ।”
दशरथको जन्म दर्ता, नागरिकता र छोरा, नातीनातिनीको जन्मदर्ता नभएको कारण उनको परिवार राज्यले दिने हरेक सेवा सुबिधाबाट बन्चित रहेको जयकृष्ण बताउँछिन् ।
दलित अगुवा बेचन खंगले अर्काको जग्गामा सानो झुप्रोमा गुजारा गर्दै आएकोले कतिबेला उठिबास हुने डरले दशरथको परिवार कयौं दिन चिन्तामा बस्नुपर्ने बाध्यता रहेको बताए ।
“बर्षा महिनामा त उनीहरूको परिवारको विजोग नै हुन्छ ।छानामा ठूलो प्वाल छ, उनले भने , “पानी परेपछि दाउरा, लुगाफाटो सबै भिज्ने गरेकोले भोकभोकै बस्नुपर्ने बाध्यता रहेको छ ।”
टोलमै सबभन्दा बिपन्न भएपनि विभिन्न विपदको बेला पाईने राहत, विपन्नका लागि आउने पैसा,भूमिहिनका लागि नेपाल सरकारले दिने घरजग्गा पाउनु पर्ने पहिलो प्राथमिकताको व्यक्ति टोलमै उनीहरू नै भएपनि जन्मदर्ता,नागरिकता नहुदा उनीहरू नै सबै सुविधाबाट वञ्चित हुनुपर्ने बाध्यता रहेको बेचन बताउछिन् ।
यीनीहरूको जन्मदर्ता, नागरिकता भएको भए यस्तो झुप्रोमा बसेर यति दु:ख गर्नु पर्दैनथ्यो ।’ उनले भने, “नेपाल सरकारले सुकुम्बासीको लागि दिने घरजग्गा अहिलेसम्म पाईसक्थे र आफ्नै घर हुन्यो ।”
वडामा आउने बेरोजगारी कार्यक्रम होस वा जुनसुकै राहत पाउने सबैभन्दा अगाडि उनीहरूकै नाम हुन्छ । परिस्थिति हेरेर उनकै नाम लेखाउन गाउँले नै अगाडि भएपनि अहिलेसम्म उनीहरू देशको नागरिक बन्न नसकेकोले उनीहरूको परिवार सबै सुविधाबाट बन्चित हुँदै आएको साविक सितापुर गाविसका अध्यक्ष बसन्त कुमार चौधरीको भनाई छ ।
धेरै भाकल गरेर भगवानसंग उसको लागि छोरा माँगेर ल्याउन सक्यौं तर हामी सबैले चाहँदा चाहँदै उसलाई अहिलेसम्म देशको नागरिक बनाउन नसक्दा दु:ख लागेको स्थानीय महिलाहरू बताउछन् ।
पुस्तौंदेखि यहि ठाउँमा बस्दै आएकोले यहीँबाट नागरिकता बनाईदिन हामी टोलवासीले वडा अध्यक्ष पशुपति प्रसाद चौधरीसंग पटकपटक आग्रह गरेपनि उनले कुनै वास्ता नगरेको स्थानीयको आरोप छ ।
अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पशुपति प्रसाद चौधरीले दशरथ यही ठाउँमा जन्मेहुर्के पनि बुबाको नागरिकता उपलब्ध गराउन नसक्दा उनी र उनको छोरा नातिनातिनीको जन्मदर्ता यहाँबाट बन्न नसकेको बताए । ऎनमा टेकेर कागजपत्र पेश गर्न सकेमात्र जन्मदर्ता संम्भव रहेको अन्यथा उनको नागरिकता र छोरा नातीनातिनीको जन्मदर्ता बनाउन यहाँ नमिल्ने बताए । कानूनी प्राबधान अनुसार कागजात पेश गर्न सके दशरथले जन्म दर्ता प्राप्त गर्न सक्ने अध्यक्ष चौधरीको भनाइ छ । त्यसको लागि आफुले यस बिषयमा पञ्जिकरण बिभागसंग जानकारी लिएर प्रक्रिया थाल्ने चौधरीले बताए ।
हामी श्रीमान-श्रीमती र हाम्रो छिमेकी समेतले पटक पटक जन्मदर्ता, नागरिकता बनाउन निकै प्रयास गरेपनि आफू र छोरा नातिनातिनाको जन्मदर्ता बन्न नसक्दा पुरै परिवार एकदमै पीडामा रहेको दशरथले बताए ।
देशमा जन्मेको कुनैपनि नागरिक जन्मदर्ताबाट बन्चित हुनुहुँदैन् । मुलुकमा जन्मेपछि जन्मदर्ता र जन्मको आधारमा नागरिकता पाउँने नागरिकको मौलिक हक भित्र पर्दछ ।
राष्ट्रिय परिचयपत्र तथा नेपाल पञ्जीकरण विभागमा लामो समय काम गरेका पञ्जिकरण अधिकारी राजीव राईले नेपालमा जन्म भई नेपालमा बसोबास गर्ने कुनैपनि व्यक्ति जन्मदर्ता र नागरिकताबाट वञ्चित हुन नहुने बताएका छन् ।
उनका अनुसार परिवारका सदस्यबाट सनाखत हुन नसकेका व्यक्तीले जन्म दर्ताका लागि सम्बन्धित वडामा र नागरिकताका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने र निवेदनको आधारमा छानवीन गरेर जन्मदर्ता र नागरिकता दिने प्रावधान रहेको छ ।
मुलुकी संहिता ऐन २०७४ को उपदफा ४ मा कुनैपनि व्यक्तिले दफा १ बमोजिम प्रमाणपत्र पेश गर्न नसकेमा वा दफा ३ (क) बमोजिम परिवारको सदस्यबाट सनाखत हुन नसकेमा तोकिएको अधिकारीले स्थलगत सरजमिन गरि निवेदकलाई चिनिने सोही वडामा बसोबास गर्ने कम्तीमा दुई जना नेपाली नागरिकताको प्रमाणपत्र लिईसकेको व्यक्ति र सम्बन्धित स्थानीय तहको कम्तीमा १ जना पदाधिकारी वा सदस्यले सरजमिन स्थलमा नै गरेको सनाखत र सम्बन्धित वडा समितिले गरेको सिफारिसको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिन सक्ने व्यवस्था छ।
जन्म,मृत्यु तथा अन्य व्यक्तिगत घटना दर्ता गर्ने ऎन२०३३ अनुसार परिवारको उमेर पुगेका कोहिपनि व्यक्ति सुचक बस्न सक्ने तथा बुवा-आमाको नागरिकता नभए परिवारको आफन्तबाट अन्य सदस्य सुचक बसेर जन्मदर्ता गराउने प्रावधान छ ।
Tags:
मुख्य समाचार