• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सम्पादक तामाङसहित दर्जनौं विशिष्ट व्यक्तित्व सम्मानित 

सम्पादक तामाङसहित दर्जनौं विशिष्ट व्यक्तित्व सम्मानित 
न्यूज टुडे
राजविराज,०४ बैशाख ।
न्यूज टुडे दैनिकका कार्यकारी सम्पादक वृजमान तामाङसहित दर्जनौं विशिष्ट व्यक्तित्व सम्मानित भएका छन् । महगु लेखी बृद्वाश्रमद्वारा सप्तरीको सप्तकोसी नगरपालिका ५ गंगाजलीमा शुक्रबार आयोजित एक समारोहका वीच सम्पादक तामाङसहित विभिन्न उच्च पदस्थ व्यक्तित्वहरु सम्मानित भएका हुन् । 
सम्मान कार्यक्रममा मञ्चासीन प्रमुख अतिथि सभामुख यादवसहित अतिथिगण । फोटो : न्यूज टुडे
महँगु लेखी बृद्धाश्रमका संरक्षक एवम् मधेश प्रदेश सभा सदस्य तथा निवर्तमान गृह,सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षता तथा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा  प्रजातान्त्रिक आन्दोलनका योद्धा, संचारकर्मी तथा ज्येष्ठ नागरिक गरि तीन दर्जनबढी व्यक्तित्वलाई सम्मान गरिएको थियो । 
मन्तव्य व्यक्त गर्दै सभामुख यादव । फोटो : न्यूज टुडे
सम्मानित हुनेमा प्रजातान्त्रिक आन्दोलनका योद्धाहरु पूर्वमन्त्री सत्यनारायण मण्डल, हेमराज ताडेड, दिवाकर देवकोटा,मुरारी कार्की,रविन्द्र चौधरी,रमेश कार्की,दिनेश्वर प्रसाद चौधरी,प्रदीप गुप्ता, उपेन्द्र चौधरी,देव नारायण श्रेष्ठ,रामदेव चौधरी, उपेन्द्र कुमार झा रहेका छन् । 
यसैगरी आम संचार प्राधिकरण मधेस प्रदेश अध्यक्ष जितेन्द्र खड्गा, प्रेस स्वतन्त्रता सेनानी प्रकाश खतिवडा न्यूज टुडेका कार्यकारी सम्पादक तामाङ, सम्पादकहरु श्रावण देव, भोला पासवान,राज कुमार पासवान, खगेन्द्र कार्की,अनिल पोखरेल,उत्सव आचार्य,विपी कोइराला, मनु पासवान सम्मानित भएका छन् ।  कार्यक्रममा ८० बर्ष नाघेका  एक दर्जन बढी जेष्ठ नागरिकलाई समेत सम्मान गरिएको थियो ।
गमलामा पानी खन्याएर कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि सभामुख यादव । फोटो : न्यूज टुडे
उनीहरुलाई प्रमुख अतिथि मधेस प्रदेशका सभामुख रामआशिष यादवले दोसल्ला ओढाएर सम्मान गरेका थिए । 
 बहुदलीय व्यवस्था र प्रजातन्त्रका लागि निरंकुश पञ्चायती व्यवस्थाको बिरुद्धको आन्दोलनमा सहभागी भई जेलनेल र हिरासतमा यातना भोगेका सप्तरी -१ का प्रजातान्त्रिक योद्धाहरु, सञ्चारकर्मी(सम्पादक)हरु र ज्येष्ठ नागरिकहरुले देश र जनताको लागि पुर्‍याएको योगदानको उच्च मुल्यांकन गरि  सम्मान गरिएको आश्रमका संरक्षक पूर्वमन्त्री लेखीले जानकारी दिए ।
सम्मान ग्रहण गर्दै पूर्व मन्त्री मण्डल । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सभामुख यादवले देश परिवर्तन तथा सामाजिक रुपान्तरणको प्रमुख आधार शिक्षा रहेको बताउँदै बालबालिकाहरुलाई उचित शिक्षा र संस्कार दिनुपर्नेमा जोड दिए । जुन समाज अशिक्षित हुन्छ त्यो समुदायमाथि अरुले शासन गरिरहने बताउदै उनले आफ्ना सन्तानलाई असल मान्छे बनाउन पिठ्युँमा बोरा नभएर झोला बोकाएर विद्यालय पठाउनु पर्नेमा जोड दिए । 
राष्ट्रप्रति समर्पित योद्धाहरुलाई सम्मान गरेकोमा आयोजकलाई धन्यवाद दिदै उनले कार्यक्रमले लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन भावी पुस्तालाई सकारात्मक संदेश प्रवाह गर्नेमा विश्वास व्यक्त गरे ।
सम्मान ग्रहण गर्दै प्रजातान्त्रिक आन्दोलनका योद्धा पूर्व मन्त्री तातेड । फोटो : न्यूज टुडे
सम्मानित व्यक्तित्व पूर्वमन्त्री मण्डलले आफ्नो योगदानको मुल्यांकन भइ सम्मानित हुन पाउँदा खुशी लागेको बताउँदै प्रजातन्त्र भनेको जीवन पद्धति भएकोले यसका हिमायतीहरु कहिले कम्जोर हुनु नहुने बताए । उनले देशका लागि लडेकाहरु अपमानित हुँदा लोकतन्त्र कम्जोर भएको टिप्पणी गरे । 
पूर्वमन्त्री तातेडले बालेन सरकारको कामकारबाहीको अहिले नै मुल्यांकन गर्ने बेला नभएपनि पछिल्लो क्रियाकलापप्रति असन्तुष्टि व्यक्त गरे । उनले बर्तमान सरकार नसच्चिए अन्य दलहरू जस्तै सकिएर जाने तर्क गरे ।
प्रजातान्त्रिक योद्धा दिवाकर देवकोटाले नेताहरूको अहमता, अहंकार र अत्याचारको प्रतिफल स्वरुप नयाँ पार्टीले अद्भुत जनादेश पाएको बताए । उनले जनताबाट गुमेको विश्वासलाई फर्काउन नेताहरुको सोच परिबर्तन हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा मधेस प्रदेशसभा सदस्य अनिरुध्द प्रसाद सिंह, राजेन्द्रप्रसाद चौधरी, आम संचार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खड्गा, प्रजातान्त्रिक योद्धाहरु रविन्द्र चौधरी,रमेश कार्कीले डिजिटल युगका युवापुस्ताहरुले निरङ्कुश शासनको अत्याचार विरुद्धको संघर्षलाई नबुझेकाले अहिलेको नतिजा आएको बताए ।।
कार्यक्रममा बोल्दै प्रेस स्वतन्त्रता सेनानी प्रकाश खतिवडा,नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, भोला पासवान,बिपि कोइराला बृजमान तामाङले बालेन्द्र सरकारले मिडियामाथि गरेको हस्तक्षेप लोकतन्त्रमाथिको ठाडो प्रहार भएको टिप्पणी गरे ।  संघीय सरकारले प्रदेश सरकार र स्थानीय सरकारलाई पत्राचार गरि विज्ञपनमा रोक लगाउनु संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान विरोधी कदम भएको जिकिर गर्दै उनीहरुले संघीय सरकारले विज्ञापनमा रोक लगाएर निरुङ्कुशता प्रदर्शन गरेको आरोप लगाए । 
सरकारको असंवैधानिक कदमको विरुद्धमा लोकतान्त्रिक शक्तिहरु तथा लोकतान्त्रिक आन्दोलनका योद्धाहरु एकजुट हुनुको विकल्प नरहेको बताउँदै उनीहरुले सरकारको अलोकतान्त्रिक निर्णय अविलम्ब फिर्ता गर्न माग गरे ।
लोक संचार तथा चलचित्र बोर्ड मधेस प्रदेशका अध्यक्ष किशोर कुमार लेखीद्वारा संचालित कार्यक्रममा स्वागत सप्तकोसी नगरपालिका ५ का वडाध्यक्ष गोसाई चौधरीले गरे ।
आश्रमको प्राङ्गणमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका पदाधिकारी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।