सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख विरेन्द्र माझीले कसैको व्यक्तिगत स्वार्थका लागि केही समुहले नगरपालिका विरुद्ध नकारात्मक प्रचार गरी भ्रम फैलाएको भन्दै आपत्ति व्यक्त गरेका छन् । नगरपालिका कार्यालयको प्राङ्गणमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले स्वार्थ समुहको इसारामा नगरपालिकाको बदनाम गरेको आरोप लगाएका हुन् ।
पत्रकार सम्मेलनमा सहभागी जनप्रतिनिधि तथा स्थानीयवासी । फोटो : न्यूज टुडे
पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख माझीले पूर्व नगरप्रमुख शैलेश साहको उक्साहटमा केही समुहले नगरपालिकाका कार्यालयमा ताल्चा लगाउने र अनावश्यक माइकिङ्ग गरि भ्रम छरेको बताए ।
तत्कालीन जोगिनियाँ गाविस भित्र हाल हनुमाननगर कंकालिनी नगरपालिका ५ मा निर्मित सुविधा सम्पन्न नवनिर्मित भवनमा प्रशासकीय कार्यालय संचालन गर्ने निर्णयलाई तोडमोड गरी भारदह सार्ने भनी सर्वसाधारणमा गलत भ्रम छरिएको भन्दै मेयर माझीले आक्रोश पोखे ।
उनले सेवा प्रवाहलाई सहज, प्रभावकारी र कम खर्चिलो बनाउने उद्देश्यसहित प्रशासकीय कामकारबाही नयाँ स्थानमा स्थानान्तरण गर्ने निर्णय गरिएको बताए । नगर प्रमुख बिरेन्द्र माझीले बहुमतको निर्णयअनुसार सेवा प्रवाहलाई सहज बनाउने तथा प्रशासनिक खर्च कटौती गर्ने उद्देश्यले पशु अस्पतालका लागि निर्माण गरिएको नयाँ भवनमा अस्थायी रूपमा प्रयोग गर्ने निर्णय गरिएको स्पष्ट पारे ।
उनले नगरपालिकासँग आफ्नै व्यवस्थित प्रशासकीय भवन नभएकाले अस्थायी समाधानका रूपमा उक्त भवन प्रयोग गर्नुपरेको बताए । तीन वटा वडा कार्यालय र एउटा स्वास्थ्य चौकी भाडाको भवनबाट सञ्चालन भइरहेको बताउदै उनले यसले अनावश्यक आर्थिक भार बढिरहेको बताए ।
नगर प्रमुख माझीले सबै प्रशासनिक कार्यालयहरूलाई एउटै स्थानबाट सञ्चालन गर्दा सेवाग्राहीलाई सहज हुने, कार्यसम्पादन छिटो हुने तथा खर्चमा समेत कटौती हुने दाबी गरे । उनले निर्णय प्रक्रियामा बहुमतको सम्मान गरिएको उल्लेख गर्दै सेवा प्रभावकारी बनाउने उद्देश्यले गरिएको कदमको विरोधप्रति दुख व्यक्त गरे।
नगरपालिकाको चैत २७ गते सम्पन्न १६औँ नगर सभाले वडा नम्बर १२ मा रहेको हालको प्रशासकीय भवनलाई वडा नम्बर ५ मा रहेको नवनिर्मित पशु अस्पताल भवनमा स्थानान्तरण गर्ने निर्णय गरेपछि अनावश्यक विवाद खडा गर्न खोजिएको उनले पत्रकार सम्मेलनमा जानकारी दिए।
पूर्व मेयर साहको घरमा ८ बर्षदेखी वडा नम्बर ९ र १३ को वडा कार्यालय र वडा नम्बर १३ को स्वस्थ्य चौकी संचालन गर्दा नगरपालिकाले भाडा बुझाउनु परेको माझीले बताए ।
भाडामा संचालनमा रहेको कार्यालयलाई अहिलेको नगरपालिका संचालनमा रहेको भवनमा स्तान्तरण गरी ८ वटा शाखा संचालनमा राख्ने तथा अन्य प्रशासकीय कार्य नयाँ भवनमा सार्ने कार्यपालिकाले निर्णय गरि नगरसभाबाट पारित गरिएको उनले बताए ।
एकै स्थानबाट कार्यालय संचालनमा कठिनाइ हुँदा तत्काल अर्को व्यवस्था नहुँदा सम्मका लागि यस्तो निर्णय लिन बाध्य भएको उल्लेख गर्दै उनले नगरपालिकाको प्रशासकीय भवन हनुमाननगरबाट बाहिर सार्ने भ्रमको पछाडि नलाग्न सर्वसाधारणलाई आग्रह गरे ।
विभिन्न वडाका ९ जना वडाध्यक्ष समेत सहभागी पत्रकार सम्मेलनमा पूर्व मेयर साहले आफ्नो नीजी घर भाडामा लगाएर नगरपालिकाबाट भाडा असुली गरेको भन्दै खेद प्रकट गरिएको थियो । पूर्व मेयरको व्यक्तिगत स्वार्थको लागी नगरपालिकालाई बन्धक बनाउन नमिल्ने वडा अध्यक्षहरुको भनाइ थियो ।
वडा नम्बर २, ९, १०, १२ र १३ का वडाध्यक्षहरूले उक्त निर्णयप्रति असन्तुष्टि जनाएका छन् । व्डा नम्बर २ का सन्तोष कुमार यादव,९ का हरिशचन्द्र वर्मा,१० का रामलखन मण्डल, १२ का श्रीचन्द्र मुखिया र १३ का कुशेश्वर प्रसाद यादव आन्दोलनमा उत्रिएका छन् । उनीहरूले साविककै स्थानमा कार्यालय कायम राख्न वा नयाँ प्रशासकीय भवन निर्माणपछि मात्र स्थानान्तरण गर्नुपर्ने माग राखेका छन् ।
असन्तुष्ट पक्षले बहुमतको आडमा गोप्य ढंगले निर्णय गरिएको आरोप लगाउँदै यसलाई “मनोमानी” निर्णयको संज्ञा दिएका छन् । कुल १४ वडा रहेको नगरपालिकामा ५ जना वडाध्यक्षको सहमति बिना निर्णय गरिएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका हुन् ।
यसैक्रममा सोमबार असन्तुष्ट पक्षले नगरपालिका कार्यालयअगाडि धर्ना दिएका थिए भने नगरक्षेत्रमा विरोध प्रदर्शन गर्दै बजारसमेत बन्द गराएका थिए ।
विवाद चर्किंदै जाँदा नगरपालिकाको दैनिक प्रशासनिक कामकाज प्रभावित हुने संकेत देखिएको छ ।
असन्तुष्ट पक्षले २९ गते नगर कार्यपालिका कार्यालयमा लगाएको ताला अर्को पक्षले बल प्रयोग गरि ताला फुटाएर कार्यालय संचालनमा ल्याएका थिए । २०८३ बैशाख १ र २ गते सार्वजनिक विदा भएकोले असन्तुष्ट पक्षले ताला फोडेर कार्यालय संचालन गरेको बारे कुनै प्रतिक्रिया जनाएको छैन । २०८३ बैशाख ३ गते देखि भने कार्यालयको नियमित कामकारबाही संचालमा आउने छन् ।