• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

विभेदवाट उन्मुक्ति पाउन राजनीति लडाई लड्नुपर्छ : गोले

विभेदवाट उन्मुक्ति पाउन राजनीति लडाई लड्नुपर्छ : गोले
न्यूज टुडे
राजविराज,२९ चैत ।
नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोलेले राज्यबाट हुने सबैखाले विभेदबाट उन्मुक्ति पाउन राजनीति लडाइँ लड्नुपर्नेमा जोड दिएका छन् । नेपाल तामाङ संघीय घेदुङको आयोजना तथा जिल्ला घेदुङको सहकार्यमा सप्तरीमा  आइतबार आयोजित तामाङ राष्ट्र, उत्पीडन र मुक्तिको सवाल विषयक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
प्रशिक्षण कार्यक्रममा मञ्चासीन संघीय अध्यक्ष गोलेसहित अतिथिगण । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै अध्यक्ष गोलले अधिकार प्राप्तिका लागि तामाङले राजनीतिक गर्नुको विकल्प नभएको बताए । तामाङ समुदायमा राजनीति चेतना नहुँदा पछाडि परेको दाबी गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले तामाङ समुदायलाई राजनीतिमा अगाडि बढ्न आग्रह गरे ।
उनले घेदुङको नेतृत्वमा रहेर तामाङ समुदायको सेवा गर्ने अवसर पाएको उल्लेख गर्दै अब राजनीतिमा सक्रिय हुने संकेत गरे । 
“विभिन्न तल्लो  तहदेखि संघीय घेदुङमा दोश्रो कार्यकाल नेतृत्व गरि महाधिवेशनको संघारमा पुग्दा तामाङ समुदायलाई सेवा गर्ने महत्त्वपूर्ण अवसर  पाएँ’उनले भने, ‘यो लामो अनुभव र अध्यनबाट  तामाङलाई अगाडि बढाउन राजनीतिमा जोड्नुपर्ने निष्कर्षमा पुगे।
आन्तरिक उपनिवेशीकरणबाट दमनमा परी युगौदेखि दबिएर बसेका तामाङ जातिलाई माथि उकास्न राजनीतिमा सक्रिय गराउन अपरिहार्य रहेको गोलेको भनाइ थियो।
घेदुङको विधानमा संघीय अध्यक्षले राजनीतिक दलमा आबद्ध हुन नपाउने उल्लेख भएकोले आफू राजनीतिकबाट टाढा बस्नु परेको बताउँदै उनले निकट समयमा  सिद्धान्त,सोच र विचार मिल्ने पार्टीमा आबद्ध भएर राजनीतिक अभियान अगाडि बढाउने दृढता व्यक्त गरे ।
राजा, राणा तथा विभिन्न कालखण्डमा राज्यले तामाङ समुदायमाथि गरेको असामान्य अत्याचार,उत्पिडन र विभेद बारे चर्चा गर्दै अध्यक्ष गोलेले विभेदवाट उन्मुक्ति पाउन राजनीति लडाई लड्नुपर्नेमा जोड दिए ।
शेर बहादुर तामाङ, कान्छाराम तामाङ, बहादुर सिंह लामा  तामाङ भएकै कारण शासक बर्गको निशाना बनेको आरोप लगाउँदै अध्यक्ष गोलले देशको लागी योगदान गरेका उज्यालो नेपालका नायक कुलमान घिसिङलाई समर्थन गरेको निहुँमा अपमानित र अपहेलित हुनु परेको बताए । उनले देशकै पहिलो जाति र ठूलो जनसंख्या भएको तामाङ जाति राजनीतिक रूपमा एकता नहुँदा राजनीति क्षेत्रमा निकै पछाडि परेको बताए ।  ।
प्रशिक्षण कार्यक्रममा बोल्दै संघीय वरिष्ठ उपाध्यक्ष रामकृष्ण ब्लोन । फोटो : न्यूज टुडे
संघीय घेदुङका वरिष्ठ उपाध्यक्ष रामकृष्ण ब्लोनले तामाङ समुदायको संस्कार संस्कृतिमा एकरुपता ल्याउन घेदुङले नीति लिएको बताउँदै कार्यान्वयनका लागि आग्रह गरे । घेदुङले लिएको नीति तामाङ समुदायमा समर्पित भएको भन्दै उनले तामाङ समुदायको भलो हुने नीति तथा कार्यक्रममा हुने अबरोध पन्छाएर अगाडि बढ्न निर्देशन दिए । 
केन्द्रीय कोषाध्यक्ष रुप योन्जनले संघीय महाधिवेशन २०८३ जेठ १,२ र ३ गते काठमाडौमा हुने जानकारी दिदै सक्रिय सहभागीताको लागि आग्रह गरे ।
नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सूर्यमान तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा संघीय सदस्य एवम् सप्तरी जिल्ला इन्चार्ज भिम घिसिङ, विलाम मुक्तानले तामाङ समुदायलाई राज्यको मुलप्रवाहमा पुर्‍याउन जनचेतनामूलक कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । 
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका महासचिव बृजमान तामाङद्वारा संचालित कार्यक्रममा स्वागत घेदुङका मधेस प्रदेश कोषाध्यक्ष सरिता योन्जनले गरिन । 
अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ स्थित चाँदनी चोकमा सम्पन्न  प्रशिक्षण कार्यक्रममा घेदुङका पूर्व केन्द्रीय सदस्य खडग बहादुर योन्जन, मधेस प्रदेश सदस्य अशोक योन्जन,  नेपाल आदिवासी जनजाति महासंघ सप्तरीकी उपाध्यक्ष भद्र कुमारी लामा, सह सचिब रविना स्याङ्दन, युवा घेदुङका केन्द्रीय सदस्य शसिकर लामा, साँस्कृतिक घेदुङका केन्द्रीय सदस्य जित बहादुर गोले, जिल्ला अध्यक्ष टिक बहादुर लो लगायतका जिल्ला समितिका पदाधिकारी, विभिन्न गाउँपालिका नगरपालिकाका पदाधिकारी लगायतका तामाङ अगुवाहरुको सहभागिता रहेको थियो ।