न्यूज टुडे
राजविराज,२७ चैत ।
छिमेकी रामदेव यादव र कारी यादव मिलेर छोराको अपहरण गरि बन्धक बनाएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ६ बभनगामाका जयकृष्णा कुमार यादवले आरोप लगाएका छन् । नेपाल पत्रकार महासंघ सप्तरीको सभाहलमा शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै यादवले आरोपीतहरुले १४ बर्षिय छोरा अमन कुमार यादवलाई अपहरण गरि बन्धक बनाई आफूसँग फिरौती माग गरेको बताए । २०८२ पुस १९ गते छोरा घरबाट हराएको बताउँदै उनले रामदेव र कारीले १० हजार नगद र १ विघा जग्गा दिए छोरा खोजिदिने भन्दै पटकपटक माग गरेको बताए ।
‘आरोपितहरु र आफ्नो घर आसपासमै रहेको छ” रामदेवले आफ्ना नातीको जन्म दिन मनाउन आवश्यक सामान किन्न मेरो छोरालाई हनुमाननगरसंगै लान्छु भन्यो’ उनले भने,तर मैले अस्वीकार गरेपछि एक्लै सामान लिएर आए तर मेरो छोरा साँझमा रामदेवको नातीको जन्म दिन मनाउन पुग्यो’ उनले थपे:- उसको घरमा किन गएको भनी छोरालाई कुटपिट गरेपछि त्यही दिन देखि घरबाट निस्किएर बेपत्ता भयो, धेरै खोजतलास गर्दा पनि अहिलेसम्म भेटिएको छैन ।’
छोरा हराएको भनी जिल्ला प्रहरी कार्यालयमा हुलिया दिएको महिनौंसम्म पनि कतै फेला नपरेको जानकारी दिदै उनले खोजतलासमा सहयोग गरिदिन सरोकारवाला तथा संचारकर्मी ,मानवअधिकारकर्मी, स्थानीय प्रशासनसंग आग्रह गरे ।
छोरा हराएको ४ महिनापछि अपहरण तथा शरिर बन्धकको आरोप छिमेकीलाई किन लगाएको भनि संचारकर्मीको प्रश्नमा उनले संदिग्ध चालचलनले छोरा उनीहरुकै नियन्त्रणमा रहेको दावी गरे ।
यता आरोपित रामदेव यादवले जयकृष्णले आफुमाथि लगाएको आरोप निराधार रहेको बताए । उनले रिसीवी साध्न गलत लान्छना लगाएर चरीत्र हत्या गरेको बताए ।
‘म साधारण किसान दुध बेचेर गुजारा चलाउने गर्छु’ जयकृष्णको छोरा र मेरो नाति एकैठाउँ खेल्ने गर्थें तर यो जयकृष्णलाई पच्दैन थियो। जयकृष्णाको छोरा मेरो नातीसंग खेल्दा उनलाई ईष्र्या हुने गर्थ्यो तर आवेगमा आएर छोरालाई कुटपिट गरि घरमा बस्ने बाताबरण नभएपछि सम्पर्कविहीन भएको हुनसक्छ तर यसबारे मलाई कुनै कुराको जानकारी छैन ।’
यता अर्को आरोपित कारी यादवसंग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
स्थानीय रामप्रसाद मण्डलले जयकृष्णले लगाएको अपहरणको आरोपमा कुनै सत्यता नभएको बताए ।हराएका बालकले पहिलेदेखि नै असामान्य व्यवहार देखाउने चंचल स्वभाव भएको उनले जानकारी दिए ।
जयकृष्णले छोरा हराएको बारे लामो समयसम्म पनि गाउँघरमा कसैलाई जानकारी सम्म नदिएको बताउँदै स्थानीय रामेश्वर यादवले प्रमाण विना कसैको चरीत्र हत्या गर्नु अन्यायपूर्ण रहेको बताए । उनले हराएको बालकको सबै मिलेर खोजी गर्नुपर्ने बताए ।
जयकृष्णले आरोपित विरुद्ध चैत १९ गते अपहरण तथा शरीर बन्धक मुद्दामा जाहेरी जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएको बताए । यद्यपि जिल्ला प्रहरी कार्यालयमा जाहेरी पुगेको छैन ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता डिएसपी डम्बरबहादुर पुरीले जयकृष्णले २०८२ माघ १९ गते छोरा हराएको भनी तीन दिन पछि माघ २२ गते हुलिया दिएको बताए । प्रहरीले सबै युनिटमा परिपत्र गरि खोजतलास जारी राखेको बताउँदै उनले छोराले बोकेको हुलियामा उल्लेख भएको मोबाइल नम्बर भनिएको जयकृष्णले प्रयोग गरिरहेको बताए ।
छोरा हराएको हुलिया दिएको जयकृष्णले चैत १६ गते जिल्ला प्रशासन कार्यालयमा रामदेव र कारी विरुद्ध अपहरण तथा शरीर बन्धक निवेदन दिएको उनले जानकारी दिए ।