न्यूज टुडे
राजविराज,२६ चैत ।
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारण गर्न संघीय सरकारले प्रदेश, स्थानीय सरकार तथा मातहतका निकायहरुमा गरिएको परिपत्र फिर्ता नगरिए सशक्त आन्दोलन गर्ने विभिन्न संचार माध्यमका सम्पादकहरुले चेतावनी दिएका छन् । नेपाल पत्रकार महासंघ शाखा सप्तरीद्वारा राजविराजमा बिहीवार आयोजित सम्पादकहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले यस्तो चेतावनी दिएका हुन् ।
ंसंघीय सरकारले गरेको परिपत्रको विरोध जनाउँदै सम्पादकहरूले घोर आपत्ति प्रकट गरे । सप्तरीबाट प्रकाशित विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग महासंघले गरेको छलफलमा सहभागीहरुले सरकारको निर्णयप्रति तीव्र असन्तुष्टि व्यक्त गरे ।
पर्याप्त अध्ययन, सरोकारवालासँग परामर्श र आवश्यक तयारीबिनै हतारमा यस्तो निर्णय गरिएको भन्दै उनीहरुले यस्तो निर्णयले समग्र पत्रकारिता क्षेत्रलाई कमजोर बनाउने र स्वतन्त्र सञ्चारमाध्यमको अस्तित्वमै असर पार्ने धारणा राखे । उनीहरुले सरकारको कदम पत्रकारको हितविपरीत रहेको उल्लेख गर्दै निर्णय तत्काल फिर्ता लिन माग गरे । स्वतन्त्र प्रेसमाथि अंकुश लगाउने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट पार्दै उनीहरुले पत्रकारहरुको हकहित र पेशागत सुरक्षाका लागि आन्दोलनको विकल्प नरहेको बताए ।
सरकारको निर्णयलाई अपरिपक्व र अनुभवहीन कदमको संज्ञा दिँदै बक्ताहरुले यसले सञ्चारकर्मीको पेशागत सुरक्षा र मिडिया क्षेत्रको स्थायित्वमा नकारात्मक प्रभाव पार्ने बताए । उनीहरुले विज्ञापन वितरणमा समान अवसर सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
सरकारको निर्णयले पत्रकारहरूको अधिकार कुण्ठित गरेको भन्दै परिपत्र फिर्ता नभए कडा आन्दोलनमा जानुपर्ने उनीहरुको जोड थियो । सहभागी सम्पादकहरूले प्रेस स्वतन्त्रताको रक्षा गर्न एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखा अध्यक्ष एवम् ग्रिन मधेश दैनिकका सम्पादक श्रवण देवको अध्यक्षतामा आयोजित कार्यक्रममा महासंघका पूर्व अध्यक्ष तथा कृष्णा दैनिकका सम्पादक मुरली प्रसाद यादव, पूर्व अध्यक्ष तथा जनआक्रोश दैनिकका सम्पादक धिरेन्द्र प्रसाद साह, शाखा उपाध्यक्ष सुधा देव, सप्तरी सन्देशका सम्पादक गणेशलाल देव, पूर्व प्रभात दैनिकका सम्पादक बिन्दु कुमार यादवले आ-आफ्नो विचार व्यक्त गरे ।
उक्त अवसरमा सप्तरीबाट प्रकाशित विभिन्न संचार माध्यमका सम्पादकहरुको सहभागीता रहेको थियो ।