• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

होस्टेलभित्र विद्यार्थी मृत्यु प्रकरण : विद्यालय संचालक र सहयोगी पक्राउ

होस्टेलभित्र विद्यार्थी मृत्यु प्रकरण : विद्यालय संचालक र सहयोगी पक्राउ
न्यूज टुडे 
राजविराज, २० चैत  । 
सप्तरीको खडक नगरपालिका-७ कल्याणपुर स्थित फुलेश्वर बोडिङ स्कुलको होस्टेलमा बस्दै आएका एक विद्यार्थी झुण्डिएको अवस्थामा फेला परेको घटना प्रकरणका दुईजना पक्राउ परेका छन् ।  खडक नगरपालिका १० का विद्यालयका संचालक ४९ बर्षिय धिरेन्द्र चौधरी र सिरहा लहान नगरपालिका २० बस्ने सोही विद्यालयमा कार्यरत सहयोगी ( पाले ) बर्ष ४१ का  भोला मण्डल पक्राउ परेका हुन् ।
बुधबार साँझ पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय कल्याणपुरको हिरासतमा राखिएको प्रहरीले जनाएको छ । आत्माहत्या दुरुत्साहन कसुर मुद्दामा सप्तरी जिल्ला अदालत राजविराजबाट पाँच दिनको म्याद लिइ उनीहरुमाथि अनुसन्धान अगाडि बढाइएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बर बहादुर पुरीले बताए ।
खडक नगरपालिका–९ लालपट्टी निवासी तिलाई साहका छोरा १४ वर्षीय धर्मेन्द्र साहले चलाएको मोबाइल नियन्त्रणमा लिएर कुटपिट गरी उनलाई आत्महत्या गर्न बाध्य बनाएको चौधरी र मण्डलमाथि आरोप छ।  मृतक साह सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत रही होस्टेलमा बस्दै आएका थिए। घटना पश्चात् उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
यता मृतक किशोरका अभिभावकले भने छोराको कर्तव्य गरि मारेको आरोप लगाउँदै आएका छन् । उनीहरुले घटनाको सत्यतथ्य छानबिन गरि संलग्नमाथि कडा कारबाहीको माग गरेका छन् । स्थानीयवासी र अभिभावकहरूले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग समेत राखेका छन्।
घटना  २०८२ चैत ७ गते दिउँसो करिब १२:२५ बजे धर्मेन्द्र साह होस्टेलको कोठाभित्र फलामे भेन्टिलेसनमा गम्छाको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेका थिए। सोही होस्टेलमा बस्ने अन्य विद्यार्थीहरूले देखेपछि तत्काल उद्दार गरी उपचारका लागि स्थानीय द्वारिका अस्पतालमा लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा चिकित्सकहरूले उनलाई मृत घोषणा गरे ।
धर्मेन्द्रलाई झुन्डिएको देखेपछि विद्यार्थीहरुले विद्यालय प्रशासनलाई खबर गरेका थिए । धर्मेन्द्र झुन्डिएको कोठाको ढोकाको ताल्चा फुटाएर पाले मण्डल र संचालक चौधरीले स्थानीय अस्पताल पुर्‍याएका थिए  । अस्पताल पुर्‍याएपछि मात्र अभिभावक र प्रहरीलाई खबर गरिएको थियो । घटना भएको विद्यालयको दोश्रो तल्लाको सिसि क्यामराको स्वीच अफ भएकोले घटना शंकास्पद रहेको अभिभावकहरुको भनाइ छ । 
 विद्यालय प्रशासनले मृतक विद्यार्थी पछिल्ला ३–४ दिनदेखि असामान्य व्यवहार देखाउँदै आएको जानकारी दिएको थियो। झुण्डिनु अघि उनले आफ्ना साथीहरूलाई “मलाई डिस्टर्ब नगर, तिमीहरू बाहिर जाऊ” भनेको र त्यसपछि एक्लै कोठाभित्र बसेको विद्यालय प्रशासनको भनाइ थियो ।
विद्यालय प्रशासनका अनुसार घटना हुनु एक दिनअघि नै अभिभावकलाई विद्यालयमा बोलाएर बालकलाई घर लैजान आग्रह गरिएको थियो। अभिभावक विद्यालयमा आए पनि मृतकले घर जान अस्वीकार गरेको जनाइएको छ।
घटनापछि मृतकको पोस्टमार्टम सम्पन्न गरी दाहसंस्कार समेत गरिसकिएको छ। घटनाको गम्भीरता मध्यनजर गर्दै प्रहरीले विद्यालयका प्रिन्सिपल राम सुन्दर चौधरीसहित चार जनालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेका थिए। प्रहरीका अनुसार घटनाबारे आत्महत्या वा अन्य कुनै कारण बारे अनुसन्धान जारी राख्दै उनीहरुलाई तत्काल तारेखमा छोडिएको थियो । 
विद्यालयमा विद्यार्थीको सुरक्षासम्बन्धी व्यवस्थापन, मानसिक अवस्था तथा घटनाको वास्तविक कारण पत्ता लगाउन विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको थियो ।