न्यूज टुडे
राजविराज,१६ चैत ।
नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवसको अवसरमा राजविराजमा सोमबार निशुल्क कान जाँच शिविर आयोजना गरिएको छ । इम्प्याक्ट नेपाल ठाकोदेवी- जोगेन्द्र भगत, कान उपचार केन्द्र राजविराजको सहयोगमा नेपाल पत्रकार महासंघ शाखा सप्तरीद्वारा निशुल्क कान जाँच शिविर आयोजना गरेको हो ।
स्थापना दिवसको अवसरमा पत्रकारहरुका लागि आयोजित शिविरमा ३ दर्जनबढी पत्रकारहरुले कान जाँच गराएको नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष रामनारायण विश्वासले बताए ।
शिविरमा जाँच गराएका सबैजनाको कानमा कुनै पनि गम्भीर समस्या नदेखिएको इम्प्याक्ट नेपाल ठाकोदेवी- जोगेन्द्र भगत, कान उपचार केन्द्र राजविराजका प्रमुख नरेश यादवले बताए । जाँच गराएका मध्ये केही व्यक्तिमा सामान्य समस्या देखिएकाले उनीहरुलाई औषधि सहित उपचारका लागि परामर्श दिएको बताए ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाको सभाहलमा संचालित शिविरमा इम्प्याक्ट नेपाल ठाकोदेवी- जोगेन्द्र भगत, कान उपचार केन्द्र राजविराजका कान उपचार कार्यकर्ता मनोज मण्डल र दिल्ली बहादुर अधिकारीले कान जाँच गरेका थिए ।