• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

एमालेद्वारा सप्तरीमा विरोध प्रदर्शन : अध्यक्ष ओलीलाई निशर्त निहाईको माग

एमालेद्वारा सप्तरीमा विरोध प्रदर्शन : अध्यक्ष ओलीलाई निशर्त निहाईको माग
न्यूज टुडे
राजविराज,१४ चैत । 
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीको विरोधमा सप्तरीमा शनिबार एमालेले विरोध प्रदर्शन गरेको छ ।ओलीलाई निशर्त रिहाइको माग गर्दै  विभिन्न स्थानमा एमाले नेता–कार्यकर्ता तथा समर्थकहरूले प्रदर्शन गरेको हो । 
सप्तरी सदरमुकाम राजविराज एमाले नेताकार्यकर्ताले गरेको विरोध प्रदर्शन । फोटो : न्यूज टुडे
विरोध प्रदर्शनमा उत्रिएका एमाले नेताकार्यकर्ताले अध्यक्ष ओलीको पक्राउलाई एमालेले “राजनीतिक प्रतिशोध” को संज्ञा दिँदै तत्काल रिहाइको माग गरेका छन्।
उनीहरुले गृहमन्त्री सुदन गुरुङको राजिनामा तथा ओलीलाई रिहाई गर्न माग गर्दै राजविराज, कञ्चनपुर, फत्तेपुरलगायत जिल्लाका विभिन्न बजार क्षेत्रमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा उनीहरूले सरकारविरुद्ध चर्को नाराबाजी गर्दै बालेन्द्र नेतृत्वको सरकारको चर्को आलोचना गरेका थिए।
जिल्ला सदरमुकाम राजविराजमा प्रदर्शनकारीहरूले “लोकतन्त्रको हत्या बन्द गर” र “राजनीतिक पूर्वाग्रह त्याग” जस्ता नारासहित बजारका विभिन्न स्थानमा प्रदर्शन गर्दै नेता चौकमा पुगेर कोणसभा गरेका थिए। कोणसभामा वक्ताहरूले अध्यक्ष ओलीमाथि गरिएको कारबाहीलाई अलोकतान्त्रिक, पूर्वाग्रही र गैरकानुनी भएको आरोप लगाए।
यता कञ्चनपुर क्षेत्रमा पनि एमाले कार्यकर्ताहरूले प्रदर्शन गर्दै पूर्व–पश्चिम राजमार्गमा टायर बालेर विरोध जनाएका छन्। आन्दोलनका कारण केहीबेर राजमार्ग क्षेत्र तनावग्रस्त बनेको थियो ।
उता सम्भावित अप्रिय घटना रोक्न तथा सुरक्षा अवस्था मध्यनजर गर्दै नेपाल प्रहरीले राजविराज, कञ्चनपुरलगायत जिल्लाका संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ।
यसैबीच, एमाले सप्तरी जिल्ला कमिटीले विज्ञप्ति जारी गर्दै पार्टी अध्यक्षमाथि गरिएको कारबाहीलाई गैरकानुनी, अलोकतान्त्रिक र राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको आरोप लगाएको छ। विज्ञप्तिमार्फत तत्काल रिहाइ नभए आन्दोलनलाई अझ सशक्त बनाइने चेतावनी समेत दिइएको छ।
एमाले सप्तरीले शनिबार साँझ जिल्लाका विभिन्न स्थानमा सरकारविरुद्ध मशाल जुलुस प्रदर्शन गरेको छ ।ओली पक्राउको घटनापछि सप्तरीको राजनीतिक माहोल थप तातेको देखिएको छ। 
एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई शुक्रबार राती गिरफ्तार गरेका थिए । उनीहरु पक्राउको विरुद्धमा एमालेले देश व्यापी विरोध प्रदर्शन गरेका छन् ।