• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बेपत्ता बालिकाको अवस्था सार्वजनिक गर्न माग गर्दै सडक अवरुद्ध

बेपत्ता बालिकाको अवस्था सार्वजनिक गर्न माग गर्दै सडक अवरुद्ध
न्यूज टुडे
राजविराज, ०९ चैत  । 
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका– ८ करडबोनामा आइतबार ३ घण्टा चक्काजाम गरिएको छ । बेपत्ता पारिएको बालिकाको खोजी गरि अविलम्ब सार्वजनिक गर्न माग गर्दै बेपत्ता बालिकाको आफन्त र स्थानीयबासीले सडक अवरुद्ध गरेको हो । 
स्थानीयको विरोधपछि अवरुद्ध सडक । फोटो : न्यूज टुडे
सुरुङ्गा नगरपालिका ३ लक्ष्मीपुरकी १४ वर्षीया दलित बालिका एक सातादेखि बेपत्ता बनाएपछि आक्रोशित स्थानीयले सडकमा धर्ना बसेर विरोध जनाएको छ । सात महिनाकी गर्भवती रहेको भनिएकी ती बालिकाको खोजी र न्यायको माग गर्दै आफन्तले प्रहरीमा किटानी जाहेरी दिदा समेत चासो नदिएको स्थानीयले आरोप लगाएका छन् ।
घटनाको पाँच दिन बितिसक्दा पनि स्पष्ट प्रगति नदेखिएको भन्दै  स्थानीयले आक्रोश पोखे । दलित अगुवाहरूको नेतृत्वमा ठूलो संख्यामा स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय कडरबोना अगाडि प्रदर्शन गर्दै पूर्व–पश्चिम लोकमार्ग करिब तीन घण्टा अवरुद्ध गरेका थिए। प्रदर्शनकारीहरूले बालिकाको अवस्थाबारे तत्काल सार्वजनिक गर्न, दोषीलाई पक्राउ गर्न र निष्पक्ष छानबिन गर्न माग गरे।
यसैगरी स्थानीय जनप्रतिनिधिहरूले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।
सुरुङ्गा नगरपालिका ३ का वडाध्यक्ष किरणकुमार पोखरेलले दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउनुपर्ने बताए । अर्का वडाध्यक्ष छत्रबहादुर राउतले बालिकाको अवस्थाबारे तत्काल जानकारी सार्वजनिक नगरे आन्दोलन गर्ने चेतावनी दिए।
मानव अधिकारकर्मीहरूले यो घटना केवल बेपत्ता प्रकरण मात्र नभई नाबालिगमाथि सम्भावित यौन शोषण र सामाजिक अन्यायसँग जोडिएको गम्भीर विषय भएको बताएका छन् । उनीहरूले राज्यका निकायले संवेदनशीलता र तीव्रताका साथ अनुसन्धान अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
‘बालिकाको अवस्था अझै अज्ञात रहेकाले परिवार र स्थानीय समुदाय चिन्तित छन्’ मानव अधिकारकर्मीले भने,’घटनाले समाजमा सुरक्षा, न्याय र कमजोर वर्गको संरक्षणबारे गम्भीर प्रश्न खडा गरेको छ।’
बालिकाकी भाउजूले दिएको उजुरीमा स्थानीय महेश्वर यादव, उनका छोरा कुन्दन यादव, वडा सदस्य बद्री यादव तथा धर्मदेव यादवलाई आरोपित बनाइएको छ। उनीहरूमाथि बालिकालाई बेपत्ता पार्नुका साथै घटनालाई दबाउने प्रयास गरेको आरोप छ।
आफन्तका अनुसार ती बालिका विगत करिब १० वर्षदेखि महेश्वर यादवको घरमा घरेलु कामदारका रूपमा बस्दै आएकी थिइन्। पछिल्लो समय उनी सात महिनाकी गर्भवती रहेको खुलेपछि ३० फागुनयता अचानक सम्पर्कविहीन बनाइएको बताइएको छ। गर्भावस्थाबारे जानकारी बाहिरिएपछि घरधनी पक्षले गोप्य छलफल गरी बालिकालाई अन्यत्र लगिएको, सम्भवतः गर्भपतन गराइएको वा लुकाइएको हुन सक्ने आशंका गरिएको छ।
स्थानीय स्रोतका अनुसार घरधनीले आफ्नै छोरालाई समेत अन्यत्र पठाएको र लामो समयदेखि प्रलोभन वा दबाबमा यौन शोषण भएको हुन सक्ने अनुमान गरिएको छ। एक आफन्तले भने, “घटना सार्वजनिक भएपछि यसलाई दबाउने प्रयास देखिन्छ, तर मुख्य कुरा बालिका कहाँ छिन् भन्ने हो ।”
घटनाबारे बुझ्न खोज्दा आरोपित महेश्वर यादव घरमा नभेटिएको र उनका आफन्तले पनि अवस्थाबारे अनभिज्ञता जनाएको बताएका छन्। वडा सदस्यको मोबाइलसमेत बन्द रहेकाले थप शंका उत्पन्न भएको छ।
सप्तरीका प्रहरी प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीले घटनालाई गम्भीरतापूर्वक लिई अनुसन्धान सुरु गरिएको बताएका छन्। उनका अनुसार बालिकालाई उनकी दिदीले लगेको भन्ने प्रारम्भिक सूचना प्राप्त भएको छ र प्रहरी टोली परिचालन गरी खोजी कार्य जारी छ। बालिका फेला परेपछि स्वास्थ्य परीक्षणमार्फत गर्भावस्था पुष्टि गरिने र त्यसपछि यौन शोषण वा जबर्जस्तीका कोणबाट थप अनुसन्धान अघि बढाइने उनले जानकारी दिए।
घटनाको उजुरी सुरुमा इलाका प्रहरी कार्यालय कडरबोनामा परेको भए पनि क्षेत्राधिकारका कारण इलाका प्रहरी कार्यालय भेडियामा पठाइएको प्रहरीले जनाएको छ।