न्यूज टुडे
राजविराज,०६ चैत ।
सप्तरीको राजविराज नगरपालिकाकी कार्यबाहक प्रमुख इसरत परविनले कक्षा ८ का विद्यार्थीबाट शुल्क लिनु गलत भएको बताएकी छन् । सामाजिक संजालमा बिहीवार आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै कक्षा ८ का विद्यार्थीहरुबाट परिक्षा शुल्क लिनु गलत भएको बताएकी हुन् ।
संस्थागत विद्यालयका कक्षा ८ को विद्यार्थीबाट प्रति विद्यार्थी पाँच सयको दरले असुली गरेको सामाजिक संजालमा छरपस्ट भएको र नगरपालिकामा समेत निवेदन आएकोले आफ्नो गम्भीर ध्यानाकर्षण भएको उनले बताएकी छन् ।
‘नगरपालिकाले केन्द्रीय शसर्त अनुदानको बजेटबाट प्रति विद्यार्थी २ सय ७५ को दरले लाग्ने खर्च अनुमान गरि ५ लाख विनियोजन गरेको छ’ उनी भन्छन्,’अपुग भएमा थप रकमको व्यवस्थापन गर्ने निर्णय भएकै थियो, उनले थपेकी छिन्,’नगरपालिकाको निर्णय विपरीत संस्थागत विद्यालय र शिक्षा शाखाले शुल्क उठाउनु गलत हो ।’
संस्थागत विद्यालयहरुले यसको अतिरिक्त पनि रकम उठाएको गुनासो तथा उजुरी परेको बताउँदै उनले यस्तो गलत क्रियाकलापमा संलग्नलाई कारबाही गर्ने चेतावनी समेत दिएकी छन् ।
किन शुल्क उठाउनु पर्यौ , यसबारे शिक्षा शाखा प्रमुख र नगर शिक्षा समितिको बिहीवार बैठक बसी बुझ्यौ’ उनले भनिन्,’बैठक शुक्रबार पनि जारी नै राखेका छौँ। बैठकबाट छानबिन गरि गलत कार्यमा संलग्नमाथि जो कोही होस् कारबाही अगाडि बढाउछौ ।’
सामाजिक संजालमा नगर स्तरीय आधारभूत विद्यालय तह परिक्षा कक्षा ८ को परिक्षा शुल्क बापत प्रति विद्यार्थी ५ सय रुपैयाँ असुल गरेको रसिद सार्वजनिक भएपछि यस्तो अनियमितता गरिएको रहस्य बाहिरीएको थियो । विद्यार्थीबाट गैरकानुनी असुलउपर गरेको भन्दै नगरपालिकाले लिएको शुल्क फिर्ता गर्नुपर्ने तथा यस्ता नाङ्गो भ्रष्टाचार अन्त्य गर्न चौतर्फी दवाव सिर्जना गरिएको छ ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका प्रत्यासी एवम् पूर्व सिंचाइमन्त्री उमेश कुमार यादवले राजबिराज नगरपालिका शिक्षा ,युवा तथा खेलकुद शाखाले अनाधिकृत रूपमा ,गैर कानुनी रूपमा रसिद छपाई राजबिराज अन्तर्गत रहेका निजी बिधालयका छात्रछात्राबाट असुली गरेको रकम नाङ्गो भ्रष्टाचारको उदाहरण भएको टिप्पणी गरेका छन् ।
‘कक्षा ८ को विद्यार्थीहरुबाट बोर्ड परिक्षाको नाममा रुपैयाँ ५ सयका दरले पैसा उठाएर भ्रष्टाचार गरेका छन्’ उनले सामाजिक संजालमा रसिद सार्वजनिक गर्दै प्रश्न गरेका छन्, “राजविराज नगरपालिकाले अनलाइन रकम जम्मा गराउने काम गरिरहेको अवस्थामा यो रसीद कहाँबाट कसले प्रयोग गर्न निर्देशन दियो ? वा कसले प्रयोग गरेको छ ?’
उनले शिक्षा शाखा प्रमुखले निजी विद्यालयहरुको संगठनलाई गुहार मागेर यस्तो अनियमितता गरेको आरोप लगाएका छन् । विद्यार्थीबाट गरिएको असुली अनैतिक रहेको भन्दै पूर्वमन्त्री यादवले यसको जवाफ सरोकारवालाहरुले दिनुपर्ने माग उठाएका छन् ।
यो पैसा कुन नीति ,नियम ,निर्णय अन्तर्गत पैसा उठाएको छ? जवाफ दिने हिम्मत छ? केही बिधालयले रकम तिर्न नमानेपछी शिक्षा शाखा प्रमुखले निजी बिधालयको संगठन प्रमुखहरुलाई निर्णय गरिदिन हारगुहार लगाइरहेको उनले उल्लेख गरेका छन् ।
‘राजबिराज नगरपालिकाले यस्तो अनैतिक हर्कतको विरुद्धमा कार्यावाही गरोस्’ पूर्व मन्त्री यादवले भनेका छन्,’सम्बन्धित सबै निकायले यस्तो भ्रष्टचारको विरुद्धमा कारबाही बढाओस।’
उनले विद्यार्थीहरुमाथि भएको शोषण विरुद्ध विद्यार्थीको हकहितमा गठित संगठनहरु सक्रिय हुनुपर्नेमा जोड दिएका छन् ।
‘विद्यार्थी संगठनहरु त विद्यार्थीको सरोकारको विषयमा बोल्न सम्म त जागर देखाउनु पर्यो’ उनले तिखो प्रहार गरेका छन् ।
यस विषयमा सामाजिक तथा राजनीतिक स्तरबाट सर्वत्र विरोध भएको छ ।
राजविराज नगरपालिकाका शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख भोगेन्द्र प्रसाद यादवले निजी विद्यालयका छात्रछात्राबाट परिक्षा शुल्कबापत ५ सय रुपैयाँ लिएको स्वीकार गरेका छन् । उनले नीजी विद्यालयको संगठनहरु तथा नगर परिक्षा समितिको निर्णय अनुसार उक्त शुल्क उठाएको दावी गरेका छन् ।
अनलाइन प्रणालीबाट शुल्क उठाउने प्राबधान भएपनि परिक्षामा खट्ने शिक्षकहरुलाई खाजा, यातायात, आवश्यक शैक्षिक सामाग्री जस्ता सुविधा तत्काल नै उपलब्ध गराउन सहजताको लागि यस्तो निर्णय लिएको उनको भनाइ छ ।
अनलाइन रकम उठाउँदा भुक्तानीमा लामो समय लाग्ने र झन्झटिलो हुने भएकोले नगदी रसिद प्रयोग गरेको बताउँदै उनले निजी विद्यालयले प्रति विद्यार्थी १ हजार ५ सयसम्म शुल्क लिने गरेको पाइएकाले शुल्कमा एकरुपता ल्याउन नगरभरीका नीजी विद्यालयका विद्यार्थीलाई एउटै शुल्क निर्धारण गरेको स्पष्ट पारेका छन् ।