नर्मदेव यादव
रुपनी,०४ चैत ।
रुपनी गाउँपालिकाका शाखाहरुको कामकारबाहीप्रति गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवले असन्तुष्टि व्यक्त गरेका छन् । सुरक्षित आप्रवासन (सामी) अन्तर्गत गाउँपालिकामा बुधबार आयोजित सुरक्षित वैदेशिक रोजगारीका लागि शाखा प्रमुखहरुसंग अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष यादवले वैदेशिक रोजगारीले आर्थिक रुपान्तरणमा टेवा पुगेको भन्दै कार्यक्रमलाई प्रभावकारी रुपमाअगाडि बढाउन सहयोग गर्न सबै शाखा प्रमुखहरुलाई निर्देशन दिए । उनले शाखाहरुमा सोचेजस्तो काम हुने नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे । अध्यक्ष यादवले अब उपरान्त काममा ढिलाइ लापरबाही नगरी छिटो छरितो गर्न शाखा प्रमुखहरुलाई उर्दी जारी गरे ।
सुरक्षित आप्रवाशन सामी कार्यक्रम सप्तरी संयोजक राजेन्द्र प्रसाद यादवले कार्यक्रमको सहजीकरण गर्दै वैदेशिक रोजगारलाई सुरक्षीत मर्यादित एवम उपलब्धि मुलक बनाउन कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे ।
सामी कार्यक्रमबाट प्रवाह हुने सेवाहरु सम्बन्धि जानकारी गराउँदै उनले वैदेशिक रोजगारको बर्तमान अवस्थाको वारेमा जानकारी गराए । हाल दैनिक नेपालबाट वैदेशिक रोजगारमा जानेको संख्या २ हजार २ सय भन्दा माथि रहेको जानकारी दिदै संयोजक यादवले प्रतिदिन विदेशबाट ४ देखि ७ वटा शवहरु नेपाल भित्री रहेको उल्लेख गरे ।
वैदेशिक रोजगारबाट प्राप्त विपरेशन उच्च रहेकोमा चालू आर्थिक वर्ष माघ मशान्त सम्ममा दश खर्ब नाघी सकेको र जिडिपीमा २८.३७ प्रतिशत योगदान रहेको तथ्यांकले देखाएको उनले बताए ।। नेपालकै परिपेक्षमा मधेश प्रदेशबाट वैदेशिक रोजगारमा जानेको संख्या उच्च रहेको उल्लेख गर्दै उनले सप्तरी जिल्ला पांँचौ स्थानमा रहेको जानकारी गराए ।
कार्यक्रममा आप्रवासी संजाल मधेस प्रदेश अध्यक्ष जितेन्द्र कुमार सिंहा, रुपनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिमोहन सुतिहार,विभिन्न वडाका वडा अध्यक्ष तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रम संचालन रुपनी गाउँपालिकाका रोजगार शाखा प्रमुख राजेश्वर प्रसाद यादवले गरेका थिए।