न्यूज टुडे
राजविराज,०३ चैत ।
धुलो नियन्त्रणको माग गर्दै सप्तरीको राजविराज- भारदह सडक खण्ड अन्तर्गत कोशीनहरस्थित विश्वकर्मा चौकमा मंगलबार सडक अवरुद्ध गरिएको छ । निर्माणाधीन क्षेत्रमा अत्यधिक धुलो उडेर प्रदुषण बढेपछि नियन्त्रणको माग गर्दै स्थानीयले सडक अवरुद्ध गरेको हो ।
चैत महिनाको सुख्खा मौसमसँगै चलेको तीव्र हावाहुरीका कारण सडक क्षेत्रमा अत्यधिक धुलो उड्दा ठूलो सास्ती भएको सर्वसाधारणहरु बताउँछन् ।
निर्माण कार्य भइरहेका बेला सडकमा नियमित रूपमा पानी नछर्किदा धुलोको समस्या झन् बढेको स्थानीयहरुले बताए। दिनहुँ सयौंभन्दा बढी माइक्रोबस तथा अन्य सवारीसाधन सञ्चालन हुने यस व्यस्त सडकमा धुलोका कारण यात्रु, चालक र पैदलयात्री सबैले सास्ती खेप्नु परेको उनीहरुले गुनासो गरे । धुलोले वातावरण प्रदूषण बढाउनुका साथै स्वास्थ्यमा समेत नकारात्मक असर पारेको स्थानीय पीडितहरुको भनाइ छ ।
समस्यालाई लिएर आक्रोशित स्थानीयवासीहरूले सडक अवरुद्ध गर्दै निर्माण कम्पनीले तत्कालै धुलो नियन्त्रणका लागि नियमित रूपमा पानी छर्कने व्यवस्था गर्नुपर्ने माग गरे ।
‘सर्वसाधारणको सहज आवतजावत सुनिश्चित गर्नुपर्छ’ एक स्थानीयले भने, ‘विकास निर्माण आवश्यक भए पनि त्यसले जनजीवन कष्टकर बनाउनु हुँदैन।’
जिम्मेवार निकायले समयमै ध्यान नदिँदा समस्या झन् जटिल बन्दै गएको उनीहरूले गुनासो गरे । सप्तरीमा निर्माणाधीन सडक लामो समय अलपत्र छोड्दा सर्वसाधारणहरुले ठुलो समस्या खेप्नुपरेको छ ।