जनता समाजवादी पार्टी नेपालका नेता एवम् सप्तरी क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उमेश कुमार यादवले भ्रामक प्रचार गर्नेहरुलाई जनताले चिन्नु जरुरी रहेको बताएका छन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ७ स्थित मन्सापुरमा बिहीवार आयोजित जनतासँग भेंटघाट तथा छलफलका क्रममा उनले यस्तो आग्रह गरेका हुन् ।
घरदैलो कार्यक्रममा सहभागी नेता यादवसहित नेताकार्यकर्ता । फोटो : न्यूज टुडे
उनले झुठा आश्वासन र भ्रममा नफँसी अधिकार र विकासका लागि सङ्घर्ष गर्ने उम्मेदवारलाई चुन्न आग्रह गरे। झुठा र भ्रामक कुराहरु गरेर आमजनतालाई दिग्भ्रमित गर्ने काम भइरहेको उनले बताए ।
‘भ्रामक प्रचार गर्नेहरुलाई जनताले चिन्नु जरुरी छ,’ उनले भने,’हामी र हाम्रो पार्टीले त विगतमा मधेशी लगायत शोषित उत्पीडित जनताको हक अधिकारका लागि लडेर उपलब्धी प्राप्त गर्न सफल भएको तथा यसअघि हाम्रो पार्टी अध्यक्ष उपेन्द्र यादवले चुनावका बेला बिना आश्वान सप्तरीको कायापलट हुने गरी थुप्रै कामहरु अगाडि बढाउनुभएको छ ।’
गजेन्द्रनारायण सिंह अस्पतालमा थप शैय्याका लागि अत्याधुनिक भवन निर्माण, कृषि विश्वविद्यालय स्थापना, पठनपाठन सञ्चालन तथा भवन निर्माण, अस्पताल परिसरमै नर्सिङ भवन, महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पसमा इन्जिनियरि¨ भवन, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना, चार लेनको राजविराज रुपनी सडक, राजविराज–छिन्नमस्ता–न्यौर सडक, राजविराज–हनुमाननगर–भारदह सडक लगायतका थुप्रै कामहरु पार्टी अध्यक्ष यादव निर्वाचित भएका बेला काम अगाडि बढाएको उनले चर्चा गरे ।
‘ती सबै कामहरु पुरा गर्नुका साथै सप्तरीको समग्र विकासका लागि प्रयासरत रहनेछु’, उनले भने’ ‘सप्तरीवासीको शीर उँचो राख्न निरन्तर सङ्घर्षरत रहनेछ, म विश्वासघात गर्दिनँ ।’
आफुहरु सामाजिक सञ्जालको आडमा नभई जनसङ्घर्ष गरेर राजनीतिमा आएको बताउँदै उम्मेदवार यादवले सप्तरी हरेक क्षेत्रमा पछाडि परेकोले अब विकासप्रेमी र अनुभवी नेता चुनेर विकास र समृद्धिको बाटो अगाडि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पार्टीका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साह, केन्द्रिय सदस्य शैलेन्द्रमोहन झा, प्रदेश समितिका पूर्व सचिव युसुफ अलि, जिल्ला सचिवद्वय निरज मुक्ति, जयनारायण यादव, पार्टीका नेता भागवत यादव, वडा नम्बर ७ का अध्यक्ष हरि मण्डल, ८ का अध्यक्ष सत्यनारायण यादव, युवा नेता युगेश्वर मण्डल, पूर्व वडा अध्यक्ष खगेन्द्र मण्डल, प्रदिप मण्डल, अमरनाथ मण्डल, लगायतका नेताहरु सहभागी थिए ।
उम्मेदवार सहितको टोलीले विहीबार तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ७ र ८ मा पर्ने बेल्ही, लौनियाँ, सडेपार, तोपा टोलका मतदाताहरुसँग भेंटघाट गरेका छन् ।