जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले देशलाई राजनीतिक द्वन्द्वबाट निकास दिन संविधान संशोधन तथा पुर्नलेखान गर्नु अपरिहार्य रहेको बताएका छन् । प्रेस मञ्च नेपाल सप्तरीद्वारा राजविराजमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
पत्रकार सम्मेलनमा सहभागी अध्यक्ष यादवसहित नेतागण । फोटो : न्यूज टुडे
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले देश अहिले चरम राजनीतिक द्वन्दको भुमरीमा फँसेको बताए । अहिलेको सरकार नै असंवैधानिक रहेको टिप्पणी गर्दै उनले दुईतिहाईको सरकारको दम्भले राजनीतिक अस्तिरता उत्पन्न गरि देशलाई राजनीतिक द्वन्दको भुमरीमा फँसाएको आरोप लगाए ।
‘बर्तमान सरकार संविधान भन्दा बाहिरबाट बनेको छ, आफै राजनीतिक द्वन्द्वको भुमरीमा पुगेको सरकारबाट के अपेक्षा लिन सकिन्छ’ उनले भने, संक्रमणकालीन अवस्थाबाट देशलाई लयमा ल्याउने माध्यम निर्वाचन नै हो, तर निर्वाचनले देशलाई सही मार्गमा ल्याएपनि मुलुकको निकास र विकासका लागि संविधान संशोधन र पुर्नलेखन अपरिहार्य छ ।’
एमाले – काँग्रेस नेतृत्वको सरकारले संविधानको मर्म र भावना बमोजिम कार्यान्वयन भन्दा उल्लंघन गरेका कारण जनआक्रोशको परिणाम स्वरुप हेलिकप्टर चढेर भग्ने स्थितको सिर्जना भएको उनले बताए ।
संविधानले ग्यारेन्टी गरेको संघीयता, प्रतिनिधित्व, स्वायत्त र संरक्षित क्षेत्र जस्ता राज्य पुनर्संरचनाको मुलभुत विषयलाई कार्यान्वयन र दिगो व्यवस्थापन गर्नु भन्दा दवाउने दुस्साहसले जनतामा असन्तोष बढेको यादवको भनाइ थियो ।
उनले राज्य पुनर्संरचना आयोगले सिफारिस गरेको १० जोड १ को आधारमा राज्य पुनर्संरचना, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, जातीय तथा भौगोलिक अल्पसंख्यकलाई संवोधन हुने गरि स्वायत्त, संरक्षित तथा विशेष क्षेत्र, तीनै तहको सरकारमा प्रत्यक्ष निर्वाचित कार्यकारीसहितको शासकीय स्वरुपमा व्यापक परिबर्तन तथा स्वास्थ्य, शिक्षा, रोजगारीमा राज्यले ग्यारेन्टी लिने जस्ता मुलभुत विषयमा संविधान संशोधन गर्नु जरुरी रहेको बताए ।
दण्डहीनता र अराजकताले राजनीतिक दुषित बनाइएको उल्लेख गर्दै उनले दिशाहीन र नीतिहीन राजनीतिले देशलाई थप संकटमा धकेल्ने भन्दै उनलेे चिन्ता व्यक्त गरे । भ्रष्टाचारको अन्त्य, विकास, सुशासन र समृद्धिको यात्रा पुरा नभएसम्म देशले निकास पाउन नसक्ने उनले जिकिर गरे ।
गजेन्द्रनारायण सिंहको शालिकमा फालेको माला बालेनको राजनीतिक अपरिपक्वको संकेत भएको टिप्पणी गर्दै अध्यक्ष यादवले केटाकेटीहरुले भर्खरै राजनीतिक सिक्दैछ्न भन्ने रुपमा यसलाई लिन आग्रह गरे । मधेसको माहापुरुषमाथि गरिएको व्यवहारले मधेस र मधेसी जनताको शिर झुकाएको भन्दै उनले एक मिनेट समय निकालेर गजेन्द्र बाबुको शालिकमा माल्यार्णण गरि सम्मान गरेको भए बालेनको कद उच्च नै हुनेमा कुनै सन्देह नभएको बताए ।
अध्यक्ष यादवले सप्तरी विकासमा अगाडि छ भन्ने संदेश दिन आफूले अन्यठाउँ छोडेर यहाँबाट उम्मेदवारी दिएको बताए । बहुदलीय व्यवस्था आएपछि ३० वटा प्रधानमन्त्री फेरिएपनि जिल्लामा कुनै परिबर्तन नदेखिएको भन्दै उनले दुख व्यक्त गरे ।
उनले व्यवस्था फेरिएसंगै जनताको अवस्था पनि फेरिनु पर्छ भन्दै राजनीतिक लडाइँ लडेको बताए । जनता समाजवादी पार्टी नेपाल आवजविहीनहरुको आवाज भएको र उनीहरूको सबाल उठाउने नीति लिएको पार्टी भएकोले यसलाई मुर्तरुप दिन पत्रकारहरुको सहयोग पाउने विश्वास व्यक्त गरे ।
सप्तरीमा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कृषि विश्वविद्यालय, नर्सीङ कलेज, इन्जिनियरिङ कलेज, न्योर रुपनी-गाइघाट हुँदै केरुङ सम्मको राजमार्ग, रुपनी-राजविराज, भारदह- राजविराज चारलेनको मार्ग, राजविराज – छिन्नमस्ता २ लेनको मार्ग , राजविराजको चक्रपथ जस्ता शिक्षा, स्वास्थ्य, कृषि र यातायातसहित ३ दर्जनबढी गौरवका भौतिक पूर्वाधारका योजना आफ्नो पहलमा प्रारम्भ गरेको बताउँदै उनले संचालनमा रहेको योजनालाई पूर्णता दिन तथा जिल्लामै सबैभन्दा विकासमा पछि परेको क्षेत्र नम्बर ३ लाई विकासमा अगाडि बढाउन सप्तरीलाई रोजेको बताए ।
प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष धर्मपाल राउतको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्री रेणु कुमारी यादव, शैलेन्द्र प्रसाद साह, पूर्व प्रदेशसभा सदस्य विदेश्वर प्रसाद यादव ( विक्की) ,केन्द्रीय सदस्य शम्भु झा, अमरनाथ मण्डल, जिल्ला अध्यक्ष केदार प्रसाद यादव, सुनिल कुमार झा लगायतका नेताकार्यकर्ताहरुको उपस्थिति थियो ।