न्यूज टुडे
राजविराज, २७ माघ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रिय सचिव शैलेन्द्र प्रसाद साहले बालेन्द्र साह ( बालेन)द्वारा मधेशका गौरव गजेन्द्रनारायण सिंहको शालिकमा माला फालिनुले मधेश र मधेशी जनताको अपमान गरेको बताएका छन् । सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ३, नर्घो गाउँमा मङ्गलबार आयोजित चुनावी छलफल तथा भेंटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले बालेन्द्रको शैलीलाई स्टन्टको संज्ञा दिएका हुन् ।
‘चुनावी ‘रोड शो’का क्रममा मङ्गलबार राजविराज आइपुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्रले ‘गजेन्द्रचौकमा रहेको शालिकमा सम्मान दिनुको साटो उछृङाखल शैलीमा माला फाल्नु मधेश र मधेशी जनताको अपमान हो ।’ उनले भने,’स्टन्टले देश नचल्ने टिप्पणी गर्दै उनले थपे:- ‘ऊ बालेन्द्र शाह हो भने म पनि शैलेन्द्र साह हुँ, मैले उसको के योगदान छ ? मैले २५ वर्षदेखि आन्दोलनका क्रममा देश र मधेशी जनतालागि जेल–नेल भोगेको छु ।’
बालेनले योजनाबध्द रुपमा संघीयतावादी नेता सिंहको अपमान गरेको आरोप लगाउँदै उनले सामाजिक संजालमा चर्चामा आउने पूर्व योजनासाथ यस्तो हर्कत देखाएको जिकिर गरे ।
मधेशी जनताको हक हितका लागि कुनै पनि पार्टीले आवाजसम्म नउठाएको चर्चा गर्दै तत्कालिन मधेशी जनअधिकार फोरम हालको जनता समाजवादी पार्टी नेपालले कठोर सङ्घर्ष गरेर मधेशी जनताको अधिकार र पहिचान स्थापित भएको पूर्वमन्त्री साहले बताए ।
रास्वपाका अध्यक्ष रवि लामिछाने नै हजारौं गरिब जनताले जम्मा गरेको अर्बौं रुपैयाँ सहकारीमा ठगी गरेको आरोप लगाए । भ्रष्ट र ठगी प्रकरणमा मुछिएका व्यक्ति सुशासन र परिवर्तनको कुरा हास्यास्पद रहेको टिप्पणी गरे ।
नेता साहले अधिकार र विकासका लागि जसपा नेपालका उम्मेदवारलाई भारी मतले जिताउन आग्रह गरे ।