• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

विष्फोटबाट घाइते बालकहरुको उचित उपचारको माग

विष्फोटबाट घाइते बालकहरुको उचित उपचारको माग
न्यूज टुडे
राजविराज,२६ माघ । 
सप्तरीको रुपनी गाउँपालिका ६ दुधैला खोलामा शनिबार भएको शंकास्पद बस्तुको विष्फोटमा परि घाइते बालकहरुको उचित उपचारको माग गर्दै पीडित परिवार तथा स्थानीयले जिल्ला प्रशासन कार्यालय सप्तरीमा सोमबार ज्ञापनपत्र बुझाएको छ । रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवको नेतृत्व पीडित  परिवार , स्थानीय जनप्रतिनिधि तथा बुद्धिजीवीहरुले विभिन्न तीन बुँदे माग सार्दै प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा नेपाली सेनाको चरम लापरबाही देखिएको भन्दै घोर आपत्ति जनाइएको छ ।
विगतमा समेत यस्ता घटना भइ मानवीय क्षति समेत भएको स्मरण  गराइएको ज्ञापनपत्रमा  भनिएको छ,’यस घटनाक्रमले सेनाको चरम लापरबाहीका कारण यस्तो मानवीय क्षतिको घटनाहरु हुने गरेको हाम्रो ठहर छ ।’  ज्ञापनपत्रमा अगाडि भनिएको छ:-‘नेपाली सेनाको गैरजिम्मेवारीपनको कारण भएको घटनाले हामी सम्पूर्ण रुपनीबासीलाई स्तब्ध बनाएको छ ।’
यस विष्फोटका घटनामा घातेबालकहरुको उचित उपचार गरि  भविष्यमा हुने उपचार खर्च समेत सरोकारवालाबाट उपलब्ध गराइ आगामी दिनमा यस्ता घटनालाई दोहोरिन नदिन नेपाली सेनाको अभ्यासको क्रममा हराएको विष्फोटक पदार्थहरु व्यवस्थापन गर्न  ज्ञापनपत्रमा जोडदार माग गरिएको छ । 
तालिम केन्द्रमा पटकपटक यस्तो घटना दोहोरी रहने हुँदा सम्पूर्ण गाउँपालिकाबासीलाई त्रसित तुल्याएको भन्दै तालिम केन्द्र हटाउन पर्ने ज्ञापनपत्रमा माग गरिएको छ । 
घाइते बालकहरुको उपचारसहित क्षतिपूर्ति व्यवस्था एवम् उनीहरुको शारीरिक अंगभंग भएमा शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्थापन गर्नुपर्ने, नेपाली सेनाको तालिम केन्द्र यस ठाँउबाट स्तान्तरण गर्नुपर्ने र हराएका बम लगायतका विष्फोटक पदार्थहरु अविलम्ब  खोजी गरि निष्क्रिय गर्नुपर्ने ज्ञापनपत्रमा माग गरिएको छ । 
माग पूरा हुनेमा पूर्ण विश्वास रहेको बताइएको ज्ञापनपत्रमा सातदिन भित्र माग सम्बोधन नभए सशक्त संघर्षमा उत्रिने चेतावनी समेत दिइएको छ । 
ज्ञापनपत्र बुझ्दै प्रजिअ पोखरेलले  घटना दु:खद भएकोले घाइते बालकहरुको सम्पूर्ण उपचारको खर्च उपलब्ध गराउने बताए ।  उनले घाइते बालकहरुको स्वास्थ्य अबस्था पुर्ण रुपमा ठिक नभएसम्म उपचारमा कमी आउन नदिने प्रतिबद्धता समेत व्यक्त गरे । उक्त विष्फोटक पदार्थबारे अनुसन्धान भइरहेको बताउँदै उनले छिटै सत्यतथ्य बाहिर ल्याउने आश्वासन दिए । 
उक्त अवसरमा रुपनी गाउँपालिकाकी उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगी, वडा नम्बर ६ का वडा सदस्य सुर्य नारायण मेहता, त्रिशक्ति सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष ओम प्रकाश मेहतालगायतका पीडित परिवार तथा स्थानीय भद्र भलाद्मीहरुको उपस्थिति थियो । 
गत शनिबार दुधैला खोला पिकनिक (बनभोज) खान गएका बेला शंकास्पद विष्फोटक पदार्थ विष्फोट हुँदा स्थानीय  साजन  आले मगरको छोरा बर्ष ११ का साहास मगर, मनोज थापा मगरको छोरा बर्ष ९ का देव बहादुर थापा  (प्रासिस),कर्ण बहादुर थापा मगरका छोरा बर्ष १६ का कविर थापा मगर , पदम बहादुर विकको छोरा बर्ष १३ का सुरज विक,इन्द्र देव मण्डलका छोरा बर्ष १३ का सुरज कुमार मण्डल गरि ५ जना घाइते भएका थिए!।
घाइते मध्ये साहाशको र प्राशिसको पैतालामा गम्भीर चोट लागेको तथा शरीरको विभिन्न भागमा छर्रा लागेको तथा सुरज, कबिर र सुरजको शरीरको विभिन्न भागमा  छर्रा गाडिएको थियो ।  राजविराज स्थित छिन्नमस्ता अस्पतालबाट उनीहरूको शरीरबाट सल्यक्रिया गारी छर्रा निकालिए पनि थप उपचारका लागि इटहरी स्थित शैनिक अस्पताल लगिएको छ । 
घाइते मध्ये सुरज,  कबिर र सुरज तीन जना उपचार गरि सोमबार घर फर्किएका छन् भने प्राशिस र साहसको शैनिक अस्पताल इटहरीमा उपचार भइरहेको स्थानीय विष्णु थापा मगरले बताए । 
 नेपाली सेनाले भने उक्त विष्फोटक पदर्थ सेनाको नभएको दावी गर्दै आएका छन् ।