राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको सुधारको माग गर्दै इन्टिलेक्चुअल फाउण्डेशन नेपालले ज्ञापन–पत्र बुझाएको छ ।
यसरी अस्पताल सुधारको माग गर्दै फाउण्डेशन पहिलो चाहीँ होईन । विगतमा कैयौं पटक यही माग उठाएर कैयौं पटक आन्दोलनै भईसकेको छ । आन्दोलन र ज्ञापन–पत्र बुझाउने काम चलिरहन्छ । तर यस अस्पतालको उपचार सेवामा सुधार चाहीँ आएको छैन । यही कारणले यो स्वास्थ्य संस्था ‘रेफरल सेन्टर’ का रुपमा चर्चित हुन चालेको छ । पहिलो कुरा अस्पतालमा दरबन्दी अनुसारको मेडिकल सुपरिटेण्डेण्ट (मेसु) लाई अनेक तिकडम गरेर टिक्नै नदिने परम्परा छ । ‘घुमिफिरी रुम्जाटार’ भनेझै एकै व्यक्ति निमित्तका रुपमा पटक–पटक मे.सु. बन्ने गरेका कारण यसको प्रत्यक्ष प्रभावमा समग्र अस्पतालमा पर्नु अस्वाभाविक नरहेको सर्वसाधारणले प्रतिक्रिया व्यक्त गर्न थालेका छन् । बढ्दो गुटबन्दी र खिचातानीका कारण उपचारमा त्यसको प्रभाव पर्ने गरेको तीतो यथार्थलाई भुल्न नसकिएला । अब प्रतिनिधि सभाको चुनाव आउँदैछ । यस अस्पतालको सुधारको विषयलाई कतिले चुनावी मुद्दा बनाउँदै प्रतिबद्धतामा समेट्ने नै छन् । विगतमा पनि अनेक प्रतिबद्धता व्यक्त भए । तर यो अस्पतालको अवस्था पुरानै रोगका रुपमा आफै विरामी छ ।
अस्पताल सुधारका लागि व्यक्ति विशेष मात्रको पहल भन्दा पनि सामूहिक प्रतिबद्धताको आवश्यकता छ । यसका लागि स्वार्थको रोटी सेक्ने होईन, निस्वार्थ भावनाका साथ लागि पर्न जरुरी देखिन्छ ।