न्यूज टुडे
राजविराज, १४ मंसिर ।
नेपाल औषधि व्यवसायी संघ सप्तरीद्वारा राजविराजमा आइतबार विरोध प्रदर्शन गरेको छ । औषधि ऎन २०३५को दफा ११ उपदफा ५ खारेजीको माग गर्दै संघले विरोध प्रदर्शन गरेको हो ।
व्यवसायीहरुले विहान ११ बजेदेखि मध्यान्ह १२ बजेसम्म सम्पूर्ण पसल बन्द गरि शान्तिपूर्ण रुपमा राजविराज नगरपालिका परिक्रमा गरिएको संघका जिल्ला महासचिव तुलानाथ माझीले बताए ।
केन्द्रीय चरणबद्व संघर्षका कार्यक्रमलाई समर्थन जनाउँदै आफ्ना व्यापार व्यवसायी १ घण्टा बन्द गरी र्याली निकालेर शान्तिपूर्ण दवावमुलक विरोध प्रदर्शन गरिएको उनले बताए । उनले माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिए ।
उपदफा ५ मा समयमा नवीकरण नगरे प्रमाणपत्र खारेज हुने तथा बैधता समाप्त हुने तथा पुनः नवीकरणका लागि जरिवाना सहित थप शुल्क बुझाउन पर्ने हुन्छ । यसरी नवीकरण नगरेको खण्डमा व्यवसाय गैरकानूनी हुनेछ ।
‘यस्तो स्वत:रद्द हुने व्यवस्थाले दुर्गम क्षेत्रमा नवीकरणमा ढिलाइ नियमित सेवा प्राप्तिमा कठिनाइ, व्यवसाय खतरामा पर्ने र पेशागत सुरक्षाको हनन हुनेछ” व्यवसायी खेलानन्द दासले भने,’ व्यवसायीको त्यस व्यवस्थाका कारणले औषधि व्यवसायीक पेशा र अस्तित्व माथि ठूलो संकट आउने छन् ।’
नेपाल औषधि व्यवसायी संघले उक्त ऎन खारेजीको माग सार्दै मंसिर ११ गते देखि १६ गतेसम्म प्रदर्शनदेखि औषधि व्यवस्था विभागको कार्यालयमा धर्ना दिनेसम्मको चरणबद्व संघर्षका कार्यक्रम घोषणा गरेको छ ।