सप्तरीमा विवादको संख्या अहिले पनि बढ्दो छ । विभिन्न नाउँबाट विवाद, झै–झगडा हुने भएका कारणले यसले समाजमा शान्ति कायम गर्नमा पनि समस्या पैदा गरिरहेको हुन्छ ।
विवाद समाधानकै लागि सबै पालिकामा न्यायिक समितिको व्यवस्था पनि गरिएको हुन्छ । तर विवादलाई समितिमा लैजाने भन्दा पनि पञ्चायती गर्ने परम्परा अहिले पनि हटिसकेको छैन । यही कारणले गर्दा प्रहरीका कार्यालयहरुमा अहिले पनि विवादका पक्ष र पञ्चायतीको दिनभरि भिडभाड देखिने गरेको छ । प्रहरी मात्र होईन, कतिपय जनप्रतिनिधि समेत पञ्चायती गराउन सक्रिय रहने गरेको दृष्य सामाजिक सञ्जालमा देखिने गरेका छन् । स्थानीय तह (पालिका)मा यस्तै विवादहरुको समाधानका लागि न्यायिक समिति सँगै छुट्टै इजलास समेतको व्यवस्था गरिएको हुन्छ । तर अहिले पनि अधिकांश विवादलाई यस्ता समिति समक्ष लैजाने गरिएको छैन । कामै नचलेका कारण कतिपय पालिकाको इजलासमा धूलो जमेको देख्न पाईने गरेको छ । समितिको व्यवस्था स्थानीय तहमै विवादको समाधान भई दुवै पक्षलाई सन्तुष्ट गरेर पठाउन सकियोस् भन्नका लागि हो । तर त्यसको साटो पञ्चायती गरेर आफ्नो राजनीतिक दुनो सोभ्mयाउने, समाजमा प्रभुत्व जमाउनेदेखि कमाउनेसम्मको अभिष्ट नयालिएको होला भन्न सकिन्न । दुई पक्षलाई विवादमा लडाई राखेर तेस्रो पक्षले त्यसको फाईदा लिन्छ भनेर त्यसै भनिएको होईन । समाज उत्थानका लागि शान्ति अपरिहार्य हुन्छ भने शान्तिका लागि विवाद र रिसइवी गरिरहनु हुँदैन । विवाद गरेर पनि भावी दिनमा पनि एकै समाजमा बस्नु पर्ने भएका कारण पञ्चायती वा अन्य नाममा यसलाई बल्झाएर राखिरहनु पनि उपयुक्त मान्न सकिन्न ।
अतः विवादको समाधानका लागि पञ्चायतीमा होईन, न्यायिक समिति तर्फ जानु नै उपयुक्त हुनेछ ।